भक्तपुर- चाँगुनारायण नगरपालिका-५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एकमहिने मेला सुरु भएको छ । मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ ।
मेलाको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गरे । त्यस अवसरमा उहाँले ग्रामीण पर्यटनको विकास र सिङ्गो चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग नगरपालिकाले माग गरिरहेको बताए । वडा नं ५ का अध्यक्ष एवं मत्स्यनारायण मन्दिरका संरक्षक जयन्द्र खड्काले यहाँको ऐतिहासिक धार्मिक क्षेत्रको विकास र पर्यटनको विकासको अवसरलाई गुम्न नदिने गरी अगाडि बढिरहेको बताए ।
पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले एकमहिने मेलालाई व्यवस्थापन सिङ्गो गाउँ लागेको बताए । मेला अवधिभर प्रवचन र भजनकीर्तनको व्यवस्था, नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरेको उनको भनाइ छ ।
मन्दिर संरक्षकसमेत रहेका पुरीले भने, “यो ३०० वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
स–साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामलेसमेत चिनिने गरिन्छ । यहाँ ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत छ । मन्दिर परिसरमा मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने गरेको उनको भनाइ छ ।
ख्यो पुखमा एकमहिन मेला सुरु
यसैगरी, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) आजदेखि एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला सुरु भएको छ । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिने र यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यस क्षेत्रमा प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्क निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताए । यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्ने गरेको छ भने बालाचर्तुदशीमा महाद्वीप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरी सद्बिज छर्न घुइँचो लाग्ने गरेको पुरी बताउँछन् ।