काठमाडौं - नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले देशी विदेशी शक्तिहरूले पार्टी नेतृत्व र अध्यक्ष केपी शर्मा ओलीलाई सखाप पारेर जाने अभियान सञ्चालन गरेको दाबी गरेका छन् । साथै उनले नेतृत्वको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिङ्गो पार्टी पङ्क्तिको काँधमा आएको बताएका छन् ।
आइतबार मदन आश्रित स्मृतिसभाको अवसर पारेर काठमाडौँको बल्खुस्थित मदन नगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलन, निर्वाचन, सरकार, सरकारका निर्णय,पार्टी अध्यक्ष ओलीमाथि भइरहेका षडयन्त्रहरूलाई हेर्दा ती सबै घटनाक्रमहरू दासढुंगा हत्याकाण्ड नै निरन्तरताको रूपमा रहेको दाबी समेत गरे ।
उनले भने- ‘अहिले सरकारले ल्याएको अध्यादेश हेर्नुस्, मन्त्रिपरिषद्ले गरेको निर्णयहरू हेर्नुस् । हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुस् । उहाँमाथि लगाइएका मुद्दाहरूको प्रकृतिलाई हेर्नुस् । यी सबै घटनाहरू के हुन् ? यी सबै घटनाहरू दासढुंगा घटनाकै निरन्तरता हुन् । त्यसैको एउटा शृङ्खलाको रूपमा हामीले बुझ्नुपर्दछ । त्यसैले आज नेकपा एमालेको पछाडि एउटा गम्भीर कार्यभारहरू उपस्थित भएको छ ।’
उनले थप भने, ‘यी सबै घटनाक्रमहरू दासढुंगादेखि यहाँसम्मका घटनाक्रमहरूले हामीलाई के सङ्केत गरेको छ भने नेकपा एमालेको रक्षाको निम्ति देशी विदेशी शक्तिहरूले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान उनीहरुले सञ्चालन गरेका छन् । नेकपा एमाले र त्यसको नेतृत्वलाई रक्षा गर्ने एउटा गम्भीर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’
उपाध्यक्ष थापाले एमाले र नेतृत्वमाथि जुन निरन्तर आक्रमण भइरहेकाले त्यसको विरुद्ध सचेत भएर लाग्नुपर्ने बेला आएको पनि बताए ।