एपी-विश्वभरका शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका हुन् ।
विशेषगरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।अमेरिकाको एस एन्ड पी पाँच सय सूचकांक अघिल्लो दिन बनाएको ऐतिहासिक उच्च बिन्दुबाट करिब १ दशमलव २ प्रतिशतले घटेको छ ।
त्यस्तै डाउ जोन्स औद्योगिक सूचकांक पाँच सय ३७ अंकले ओरालो लागेको छ भने नास्डाक सूचकांक करिब १ दशमलव ५ प्रतिशतले घटेको बताइएको छ । पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता प्रविधिप्रति बढेको उत्साहका कारण तीव्र उकालो लागेको प्रविधि कम्पनीहरूको शेयरमा अचानक गिरावट आएपछि बजार अस्थिर बनेको हो ।
कृत्रिम बुद्धिमत्ता क्षेत्रको प्रमुख कम्पनीका रूपमा चिनिएको एनभिडियाको शेयर मात्रै ४ दशमलव ४ प्रतिशतले घटेको छ । यद्यपि यस वर्ष हालसम्म उक्त कम्पनीको शेयर मूल्य २६ प्रतिशतभन्दा बढीले बढिसकेको थियो । त्यस्तै माइक्रोन टेक्नोलोजीको शेयर ६ दशमलव ६ प्रतिशतले घटेको छ, यद्यपि यस वर्ष कम्पनीको शेयर मूल्य अझै पनि करिब १ सय ५४ प्रतिशतले माथि रहेको बताइएको छ ।
विश्लेषकहरूले बजार अत्यधिक बढेको अवस्थामा पुगेकाले केही समयको गिरावट स्वाभाविक भएको बताएका छन् । बलियो अमेरिकी अर्थतन्त्र र कम्पनीहरूको राम्रो आम्दानीले बजारलाई उच्च विन्दुसम्म पुर्याए पनि आगामी दिन सहज नहुने चेतावनी दिइएको छ ।
यसबीच मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य निरन्तर बढिरहेको छ । विशेषगरी इरानसँगको द्वन्द्व लम्बिँदै जाँदा विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलडमरूमध्य बन्द रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्ति प्रभावित भएको छ ।
तेल ट्यांकरहरू आवतजावत गर्न नसक्दा विश्वभर तेलको मूल्य बढेको र त्यसले मुद्रास्फीतिको दबाब थप बढाएको विश्लेषण गरिएको छ । तेल मूल्य वृद्धिका कारण विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको र त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको जनाइएको छ ।