काठमाडौं - मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म मुलुकको कुल बेरुजु साढे ७ खर्बमाथि पुगेको हो ।
महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष कुल ९४ अर्ब ८४ अर्ब ४० करोड रुपैयाँ बराबर लेखा परीक्षण गरिएको थियो । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र घटनाका कारण १ सय ७९ कार्यालय र निकायको लेखा तथा त्यससम्बन्धी स्रेस्ता पेस नभएका कारण १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको भने लेखा परीक्षण नभएको देखिएको छ ।
प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको कारोबार बेरुजु हो ।