काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । शिक्षा बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो ।
एसईई नतिजाको भोलिपल्टदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट कतिपय विद्यालयहरुले आवेदन लिन थालिसकेका छन् । काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरिसकेको छ ।
कक्षा ११ को भर्ना प्रक्रिया र पठनपाठनलाई लिएर विगतका वर्षहरूमा देखिने गरेको अन्योल यसपटक भने नहुने सरोकारवालाहरूले दाबी गरेका छन् ।
शिक्षा मन्त्रालयले यस विषयमा आन्तरिक गृहकार्य अन्तिम चरणमा पुर्याएको र केही दिनभित्रै औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ ।