मुस्ताङ- उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागिरु ९६ करोड ८० लाख रुपैयाँ स्रोतको सहमति प्राप्त भएको छ । मालढुङ्गा-बेनी र बेनी-जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि अर्थमन्त्रालयले स्रोत सहमति दिएको हो ।
कोरला सडकमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्रीस्तरीय निर्णय भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिइन् । आयोजनाका अनुसार कोरला सडकअन्तर्गत पर्वत-म्याग्दी जोड्ने बेनीस्थित कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से झरना, थासाङ-२ स्थित सुनखोला र घट्टे खोलाको बेलिब्रिज रहेको स्थान, थासाङ गाउँपालिका-टुकुचेस्थित थापाखोलाको बेलिब्रिज रहेको स्थानमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो । पाँच वटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने प्रमुख शर्माले उल्लेख गरिन् ।
उत्तर/दक्षिण जोड्ने कोरला सडक आयोजनाअन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । कोरला सडकअन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको जनाइएको छ ।