काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, सुकुमवासी व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा नागरिक सुविधासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद कृष्णबहादुर रोकायले यही वैशाखमा रुकुम र अर्घाखाँचीमा भएका सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पहाडी क्षेत्रमा सडक सुरक्षा कमजोर हुनु, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तथा प्रभावकारी अनुगमनको अभाव मुख्य समस्या रहेको बताए । उनले यस्ता दुर्घटना न्यूनीकरणका लागि सरकारले समयमै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।
सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई कानुनले व्यवस्था गरेका सेवा, सुविधा र अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरे ।
सांसद पूजा चौधरी, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै व्यवस्थित बसोबास र आधारभूत आवश्यकता सुनिश्चित गर्नुपर्ने बताएका छन् । उनीहरूले सुकुमवासीको जीवनस्तर सुधारका लागि दीर्घकालीन योजना ल्याउन आग्रह गरेका छन् ।
यसैगरी, सांसद रेणु चन्दले सिंहदरबार परिसरभित्र पैदल आवतजावत गर्ने सांसद तथा सर्वसाधारणलाई सहज हुने गरी दक्षिण गेट खुला गर्नुपर्ने आवश्यकता औँल्याइन्।
सांसद सावित्री मल्लले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पुरानै शैलीमा आधारित रहेको टिप्पणी गरिन् । त्यसैगरी सांसद विष्णुबहादुर विश्वकर्मा र रुक्मणी कोइरालाले पनि समसामयिक विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका छन्।