काठमाडौं - पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘प्रचण्ड’ले संविधान संशोधनको विषयलाई हल्का ढंगले नलिन सरकार र सांसदहरूलाई सचेत गराएका छन् ।
मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन अत्यन्त संवेदनशील र गम्भीर विषय भएकाले यसमा ठूलो विवेक, व्यापक छलफल र संयम आवश्यक पर्ने बताएका हुन् ।
उनले संविधान संशोधन लोकतन्त्रलाई अझ सुदृढ बनाउने र सीमान्तकृत क्षेत्र तथा समुदायको प्रतिनिधित्व थप विस्तार गर्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखे ।‘संविधान संशोधन गरौं, तर त्यो संशोधनले लोकतन्त्रलाई अझै सुदृढ गरोस् । संविधान संशोधन गरौं, जसले सिमान्त क्षेत्रको प्रतिनिधित्व अझै विस्तारित होस्,’ प्रचण्डले भने ।
उनले संविधान संशोधन प्रक्रियालाई हतार वा हल्का रूपमा अघि बढाउँदा दीर्घकालीन असर पर्न सक्ने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरे ।‘संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय हो । यसलाई हल्का ढंगले लिने गल्ती हामी कसैले पनि गर्न हुँदैन । यसले ठूलो विवेक, छलफल र संयमको माग गर्दछ,’ उनले भने ।