काठमाडौं - पुष्प कमल दाहाल (प्रचण्ड)ले कम्युनिस्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन्। स्वर्गीय निर्मल लामाको २६औँ स्मृति सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले हजारौँ तथा लाखौँ कार्यकर्ता कम्युनिस्ट शक्तिबीच एकता होस् भन्ने पक्षमा रहेको बताएका हुन्।
उनले नेतृत्व तहबाट समय–समयमा एकताका प्रयास भए पनि ती प्रयासहरू दीर्घकालीन रूपमा सफल हुन नसकेको बताए। वैचारिक बहस, छलफल र निष्कर्षसहित संगठनात्मक सिद्धान्त, नीति तथा विधिको पर्याप्त विकास हुन नसक्दा एकता दिगो बन्न नसकेको उनको भनाइ थियो।
प्रचण्डले कम्युनिस्ट आन्दोलन विभाजन र एकताका विभिन्न श्रृंखलाबाट अघि बढ्दै आएको उल्लेख गर्दै अहिले पनि सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता झन् बढेको धारणा राखे। उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पनि विभाजन र एकताको विभिन्न चरण हुँदै अघि बढेको स्मरण गराउँदै नेपालमा कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गरे।
कार्यक्रममा उनले देशमा वैदेशिक पूँजी र साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप बढ्दै गएको टिप्पणी गर्दै मुलुक राष्ट्रिय रूपमा चुनौतीपूर्ण अवस्थामा पुगेको बताए। हालै सम्पन्न निर्वाचनलाई लक्षित गर्दै कम्युनिस्ट शक्तिलाई कमजोर बनाउने रणनीतिअन्तर्गत विभिन्न गतिविधि भएको आशंका समेत उनले व्यक्त गरे।
प्रचण्डले समयसँगै ती घटनाबारे थप अध्ययन र अनुसन्धान हुँदै जाने उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनलाई नेपालबाट समाप्त पार्ने उद्देश्यसहित देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको आरोप लगाए।