काठमाडौं- आज विश्व दम दिवस ‘दम भएका सबैलाई एन्टी-इन्फलामेटरी इनहलेरमा पहुँच- अहिलेको प्रमुख आवश्यकता’ नाराका साथ विविध कार्यक्रम गरी मनाइँदैछ ।
दिवसकै अवसरमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा निर्देशक डा अनुज भट्टचनले सार्वजनिक गरेकाे तथ्याङ्कअनुसार नेपालमा करिब छदेखि आठ प्रतिशत मानिस दमबाट प्रभावित हुने गरेको पाइएको छ ।
उनका अनुसार नेपालमा तीव्र सहरीकरण, बढ्दो वायु प्रदूषण तथा मौसमी र जलवायु परिवर्तनका कारण दमको जोखिम निरन्तर बढ्दो छ । दमले बालबालिका, किशोरकिशोरी, वयस्क तथा वृद्धसहित सबै उमेर समूहका मानिसलाई प्रभावित गरेको उनको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर करिब २६ देखि ३० करोड मानिस दम रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ । दमले शारीरिक गतिविधिमा सीमितता आउने, निद्रामा समस्या हुने र निरन्तर थकान महसुस हुनेजस्ता समस्या देखा पर्छन् ।
दम अझै पनि कम पहिचान हुने भएकाले धेरै बिरामीले पर्याप्त उपचार नपाउने गरेको उनको भनाइ छ । स्वास्थ्य संस्थामा दम उपचारका आधारभूत सामग्री, विशेषगरी इनहेल्ड कोर्टिकोस्टेरोइडयुक्त (एन्टी-इन्फलामेटरी) इनहेलरको उपलब्धता कम हुनु वा मूल्य अत्यधिक महँगो हुनुका कारण विश्वभर हुने दमसम्बन्धी करिब ९६ प्रतिशत मृत्यु हाम्रोजस्तो मध्यम आय भएका देशमा हुने गरेको पाइएको छ ।
“इनहेलरको सट्टा मुखमार्फत वा सुइमार्फत दिने औषधिमा बढी निर्भर हुने प्रवृत्ति अझै देखिन्छ, जुन सधैँ प्रभावकारी हुँदैन । त्यसैले उपचारमा ढिलाइ तथा आवश्यक औषधिको अभावका कारण जटिलता बढ्ने जोखिम रहन्छ”, उनले भने।