काठमाडौं- टोखा नगरपालिका क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्ने सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र टोखा नगरपालिकाबीच समझदारी-पत्रमा हस्ताक्षर गरिएको छ। समझदारी-पत्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी बीच साेमबार हस्ताक्षर भएको हो।
हस्ताक्षरपछि दुवै पक्षले समझदारी-पत्र आदानप्रदान समेत गरेका छन्। कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै नेपाल प्रहरीसँग सहकार्य गरी सिसिटिभी जडान गर्न लागिएको बताए। उनले यसबाट स्थानीय बासिन्दाको सुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गरे।
त्यसैगरी, प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले स्थानीय सरकारले नागरिक सुरक्षालाई प्राथमिकता दिँदै सुरक्षा क्षेत्रमा गरेको लगानीको प्रशंसा गरे। उनले सिसिटिभी क्यामेराले अपराध नियन्त्रण, अनुसन्धानलाई प्रमाणमुखी बनाउन र समग्र शान्ति–सुरक्षा सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक, टोखा नगरपालिकाका प्रशासकीय अधिकृत, प्रहरी उपरीक्षकहरू लगायत वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।