काठमाडौं - काभ्रे जिल्लास्थित रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । आज (सोमबार) बिहानदेखि खोलामा पानीको सतह उल्लेख्य रूपमा बढेपछि सवारी आवागमन रोकिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कुषादेवी क्षेत्र आसपास लगातार परेको वर्षाका कारण रोशी खोलामा बहाव तीव्र बनेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले खोलाको बहाव सामान्य भई सडक सुरक्षित भएपछि मात्रै नयाँ सूचना जारी गरी यातायात सञ्चालन गरिने स्पष्ट पारेको छ । हाल यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक जोखिम नलिन आग्रह गरिएको छ । साथै, थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
यसअघि पनि रोशी खोलामा आएको बाढीले सडक बगाएपछि डाइभर्सन निर्माण गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको थियो । सामान्य वर्षासँगै बाढी आउँदा पटक–पटक सडक अवरुद्ध हुने समस्या यहाँ देखिँदै आएको छ ।