काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको सुदृढीकरण, लगानीमैत्री वातावरण र नीतिगत स्थायित्वमार्फत देशको आर्थिक विकास सम्भव हुने जनाएको छ। महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका हुन्।
महासंघको ६० वर्षे यात्रालाई केवल समयको गणना नभई देशको आर्थिक इतिहाससँग जोडिएको संघर्ष, प्रतिबद्धता र सहकार्यको प्रतीक भएको अध्यक्ष ढकालले बताएका छन् । उनले निजी क्षेत्रले उद्योग, व्यापार र लगानीको वातावरण निर्माणमा निरन्तर भूमिका खेलेको बताए।
सरकारले निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षणसम्बन्धी नीतिहरू कार्यान्वयनमा ल्याएकोमा महासंघले स्वागत गरेकाे छ । यसले व्यवसायीहरूको मनोबल बढाउने र लगानीको वातावरण सुधार गर्ने विश्वास महासंघले गरेकाे जनाएकाे छ ।
महासंघले आर्थिक सुधारका लागि कानुनी तथा नीतिगत परिवर्तन आवश्यक रहेको औंल्याउँदै लगानी वृद्धि, रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएको उनले बताए। उनका अनुसार निजी क्षेत्रमार्फत उच्च गुणस्तरीय रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
यसैगरी, अध्यक्ष ढकालले देशको आर्थिक विकासका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले लगानीमैत्री वातावरण, सुशासन र प्रविधिको अधिकतम प्रयोगमार्फत आर्थिक गतिविधि विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
महासंघले आगामी दिनमा स्वदेशी पूँजी परिचालन गरी ठूला परियोजनाहरू सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्दै आर्थिक समृद्धिका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिएको छ।