काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनालेस्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज उनले बताएका हुन् ।
उनले जारी गरेकाे शुभकामना सन्देशमा स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न यसको भूमिका निर्णायक हुने बताएका छन्। सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यममा सीमित नभई राजनीति, प्रशासन, निजी क्षेत्र र समग्र समाजलाई जवाफदेही बनाउने प्रमुख संस्था रहेकाले यस क्षेत्रले प्रेस स्वतन्त्रतासँगै उच्चस्तरीय जिम्मेवारी बहन गर्नु आवश्यक रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ छ ।
उनले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्णप्रतिबद्ध रहेको स्पष्ट पार्दै स्वतन्त्र प्रेसले मात्र सुशासन र पारदर्शितालाई दिगो बनाउन सक्ने धारणा व्यक्त गरे । साथै, प्रेस स्वतन्त्रतासँगै तथ्यप्रतिको निष्ठा, व्यावसायिक मर्यादा र सार्वजनिक हितप्रतिको उत्तरदायित्वलाई समान रूपमा महत्त्व दिनुपर्ने उनको भनाइ छ ।
“प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ । वर्तमान डिजिटल युगमा फैलिँदै गएको गलत सूचना, भ्रामक सामग्री र सामाजिक सञ्जालको दुरुपयोगजस्ता चुनौतीप्रति सचेत रहनुपर्ने आश्यकता छ । यस्तो अवस्थामा सत्य, तथ्य र जनहितमा आधारित पत्रकारिता अझ आवश्यक छ”, शुभकामना सन्देशमा भनिएको छ ।
मन्त्री डा तिमिल्सिनाले समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक मार्गमा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैँ महत्त्वपूर्ण रहने उल्लेख गर्दै सत्य र जनहितका पक्षमा सक्रिय सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मान व्यक्त गरे ।
शान्तिपूर्ण भविष्यको निर्माणः मानवअधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ भन्ने नाराका साथ मनाइँदै गरेको यस दिवसले स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको अभ्यासलाई अझ सुदृढ बनाउने विश्वाससमेत मन्त्री तिमिल्सिनाले व्यक्त गरेका छन् ।