काठमाडाैं- सरकारले बागमती र त्यसका सहायक नदी किनारका अत्यन्तै जोखिमपूर्ण बस्ती हटाउने अभियानअन्तर्गत आज बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अगाडि बढाएको छ। सम्बन्धित निकायहरूको आपसी समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस कार्यलाई अघि बढाएको हो।
यस अभियानमा आज कुल ६८६ वटा संरचना हटाउने लक्ष्य राखिएको छ। जसअनुसार बल्खु क्षेत्रका ४८६ टहरा र वंशीघाट क्षेत्रका २०० वटा संरचनाहरूमा डोजर प्रयोग गरी खाली गराउन सुरु गरिएको छ। बर्खायाममा आउने बाढी र डुबानबाट हुनसक्ने ठुलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीउधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको छ। यसपछिको योजनाका सम्बन्धमा सरकारले स्पष्ट पार्दै अब क्रमशः शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ।
बाँकी क्षेत्रमा रहेका सुकुम्बासीहरूको हकमा भने उनीहरूको वास्तविक पहिचान र सुरक्षित व्यवस्थापनको ठोस खाका तयार भएपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाइने सरकारले स्पष्ट पारिसकेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई वास्तविक सुकुम्बासीको सुरक्षित आवास, स्वास्थ्य र पोषणको उचित प्रबन्ध मिलाउन स्पष्ट निर्देशन दिइसकेको छ।
देशभरका सार्वजनिक जग्गा खाली गर्ने विषयमा सिर्जित त्रासका सम्बन्धमा गृह मन्त्रालयले समेत स्पष्ट पारेको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै स्थानीय तहले सुकुम्बासीको पहिचान र व्यवस्थापनको योजना तयार पारेपछि तथा स्थानीय जनतालाई पूर्वसूचना दिएर सुसूचित गराएपछि मात्र अतिक्रमण हटाउने कार्य अघि बढाउन निर्देशन दिएको छ।
स्थानीय तहको माग र उनीहरूको ठोस योजना बमोजिम आवश्यक परेको खण्डमा मात्र जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रबन्ध मिलाउने हुँदा विना तयारी र विना सूचना कुनै पनि कार्य नहुनेमा मन्त्रालयले आश्वस्त पारेको छ।