काठमाडौं- सामाजिक लोकतान्त्रिक पार्टीका संस्थापक अध्यक्ष तथा संविधानसभा सदस्य कुमार राईको निधन भएको छ । अस्वास्थ्य भई बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा उपचाररत ८० वर्षीय राईको गत सोमबार निधन भएको उनको परिवारले जानकारी दिएको छ । मृतक राईको मंगलबार पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ ।
भोजपुर जिल्लाको तत्कालीन वैकुण्ठ गाविस (हाल रामप्रसादराई गाउँपालिकामा वि.सं. २००२ कात्तिक महिनामा उनको जन्म भएको हो । आफ्नो बाल्यकाल सिंगापुरमा बिताएका राईले कक्षा ७ सम्मको पढाइ पनि त्यहीँ पूरा गरेका थिए । त्यसपछि आफ्नै जिल्ला भोजपुरको स्थानीय विद्यालयबाट २०२२ सालमा एसएलसी उत्तीर्ण गरे । स्नातकसम्मको अध्ययन काठमाडौं आएर पूरा गरेका थिए । उच्च शिक्षा अध्ययनकै क्रममा उनले राजनीतिक यात्रा सुरु गरेका थिए । वि.सं. २०२८ सालमा सिमपानी हाई स्कुल खोटाङको प्रधानाध्यापक बने ।
स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत भएका उनी नेपाल कम्युनिस्ट पार्टी मालेहुँदै पछि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरी राजनीतिमा सक्रिय बने । त्यस क्रममा विभिन्न समय उनी जेलसमेत परेका थिए । माओवादी द्वन्द्वकालमा २०५९ असोज १६ गते तत्कालीन नेकपा माओवादीको संघातिक आक्रमणमासमेत उनी परे । द्वन्द्वका कारण विस्थापित राई परिवार र बालबच्चासहित राजधानी काठमाडौंमा बस्न बाध्य भए ।
वि.सं. २०६४ सालको पहिलो संविधानसभामा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट सभासद बने । संविधानसभा पाँच वर्षको कार्यकालअघि नै विघटन भएपछि उनी नयाँ राजनीतिक संगठन निर्माणमा जुटे । उनले सामाजिक लोकतन्त्र, बहुल राष्ट्रवाद र आदिवासीवादको विचारधारालाई रााजनीतिक दर्शनको रुपमा अघि सारे । सोही दर्शनका आधारमा २०६९ पुस १५ मा सामाजिक लोकतान्त्रिक पार्टी घोषणा गरे । २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनको पार्टीले पहिलोपटक निर्वाचनमा भाग लिएको थियो ।