गलकोट - यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ कीर्तिमान कायम गरेको छ । चिया दिवसको अवसरमा गत मङ्गलबार इलाममा सम्पन्न ‘टि टेस्टिङ’ प्रतियोगितामा ताराखोला गाउँपालिका–१ सिरुबारीस्थित गोल्डेन टि इस्टेट प्रालिका दुई प्रकारका चियाले प्रथम स्थान हासिल गरेका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको प्रतियोगितामा जम्मा चार विधामा सम्पन्न स्वाद परीक्षण प्रतियोगितामा उक्त उद्योगले दुई विधामा बाजी मारेको हो । नेपालमा ४५ कम्पनीका चियाले प्रतिस्पर्धामा भाग लिएका थिए । ग्रिनिस अर्थोडक्स, गोल्डेन टि, ह्वाइट टि र ग्रिन टि विधामध्ये ग्रिनिस अर्थोडक्स र गोल्डेन टि प्रथम भएको चियाकफी विकास बोर्ड पोखराका नगेन्द्र सुवेदीले जानकारी दिए।
कम्पनीका सञ्चालक शिशिर घर्तीमगरले ताराखोलाको चिया उत्कृष्ट बन्नु गौरवको विषय भएको बताए । उनले ताराखोलामा करिब १०० रोपनी क्षेत्रफलमा चियाखेती गरेका छन् । समुद्र सतहदेखि करिब दुई हजार २०० देखि दुई हजार ४०० मिटर उचाइमा फैलिएको चिया बगानमा उत्पादित यी चियाले उच्च गुणस्तर र विशिष्ट स्वादका कारण उत्कृष्टता हासिल गरेको बताइएको सुवेदीले बताए।