काठमाडौं- सगरमाथा क्षेत्रमा सञ्चालन हुने ट्रेकिङ एजेन्सीहरूद्वारा आधार शिविरमा ‘ओभरनाइट स्टे’ प्याकेजसहित प्रचारप्रसार गरिएको भन्दै पर्यटन विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ। विभागले यस्तो गतिविधि तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जारी गरेको निर्देशनमा सगरमाथा आधार शिविर (Expedition Camp) मा बसोबाससम्बन्धी प्रचलित नियम उल्लंघन भइरहेको गुनासो आएको उल्लेख गरिएको छ।
पर्यटन विभागका अनुसार पर्वतारोहणसम्बन्धी नियमावली २०७९ अनुसार आधार शिविरमा पर्वतारोही दलका सदस्य, सहयोगी, पथप्रदर्शक, उचाइमा काम गर्ने कर्मचारी, आधार शिविरका कामदार तथा स्थानीय कामदार बाहेक अन्य व्यक्तिलाई बस्न अनुमति छैन। तर केही ट्रेकिङ एजेन्सीहरूले नियमविपरीत ‘ओभरनाइट स्टे’ प्याकेज बनाएर पर्यटकलाई आकर्षित गर्ने प्रयास गरेको पाइएको छ।
विभागले यस्तो कार्य कानुनविपरीत भएको स्पष्ट गर्दै तत्काल बन्द गर्न आग्रह गरेको छ। यदि निर्देशन विपरीत गतिविधि जारी राखिए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।पर्यटन विभागका शाखा अधिकृत प्रकाश पोखरेलद्वारा हस्ताक्षरित उक्त पत्रमा सम्बन्धित सम्पर्क अधिकृत तथा ट्रेकिङ एजेन्सीहरूलाई नियम पालना गर्न कडाइका साथ निर्देशन दिइएको छ।यस कदमले सगरमाथा क्षेत्रमा अनियन्त्रित गतिविधि रोक्न र पर्वतारोहण व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
