काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। नेपाल र भारत दुवैले आ–आफ्नो तर्फबाट आवश्यक तयारी अगाडि बढाएका छन्।
यसै क्रममा भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउने भएका छन्। उनको भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिनु रहेको बताइएको छ।
नेपालमा दुई दिन बसाइका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को तर्फबाट पठाइएको निमन्त्रणापत्र प्रधानमन्त्री बालेनलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। यसअघि नै प्रधानमन्त्री मोदीले बालेनलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाइँ दिँदै भारत भ्रमणका लागि आमन्त्रण गरिसकेका थिए।
उक्त निमन्त्रणालाई प्रधानमन्त्री बालेनले स्वीकार गरिसकेको जानकारी परराष्ट्रमन्त्री शिशिर खनाल ले सार्वजनिक गरिसकेका छन्। मन्त्री खनालले मोरिसस भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस. जयशंकर सँगको भेटपछि बालेन भारत जाने बताएका थिए।
यसैबीच, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा ले पनि प्रधानमन्त्री बालेनको भारत भ्रमण हुने पुष्टि गरिसकेका छन्। औपचारिक प्रक्रिया पूरा गर्न विदेश सचिव मिस्री नेपाल आउन लागेका हुन्।
भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेनलाई भेटेरै निम्तो दिन्छन् या परराष्ट्र मन्त्रालयमार्फत दिनेछन् भन्ने अझै टुङ्गो लागेको छैन । मिस्रीले नेपाल भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्रमन्त्री खनाल, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायत अन्य केही मन्त्रीलाई भेट्ने कार्यक्रम छ । उनको दुई दिनको भ्रमण कार्यतालिकाबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले तयारी गरिरहेको जनाइएको छ ।