काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गर्ने निर्णय गरेको छ। बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता बनाउने सहमति गरेको हो।
उक्त निर्णयलाई अब बस्ने संसदीय दलको औपचारिक बैठकबाट अनुमोदन गर्ने तयारी गरिएको छ। कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि पहिलोपटक सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्न लागेको हो।
आङ्देम्बे समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन्। सुरुमा संसदीय दलको नेताका लागि भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदारका रूपमा देखिएका थिए। तर, पार्टीभित्र एकताको सन्देश दिन आङ्देम्बेलाई नै नेता बनाउनुपर्ने आवाज बलियो बनेको थियो।
उनी पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। तर, गगन थापालाई सभापति चयन गरिएको विशेष महाधिवेशनमा भने उनी सहभागी भएका थिएनन्। त्यसपछि उनले आफूलाई कुनै समूहको लेबल नलगाउन र सभापति थापाको स्पिरिटअनुसार काम गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका थिए।
पार्टीभित्र आन्तरिक एकता सुदृढ गर्न आङ्देम्बेलाई संसदीय दलको नेता बनाउनुपर्ने मत उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले अघि सारेका थिए। शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूको समर्थन प्राप्त भएपछि ३८ सदस्यीय संसदीय दलमा आङ्देम्बेको पक्षमा स्पष्ट बहुमत पुग्ने स्रोतले जनाएको छ।