काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको सूचनामा एजेन्डाहरू भने उल्लेख गरिएको छैन ।यसअघि २ वैशाखमा बसेको बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो ।
त्यस्तै ७ वैशाखमा बसेको अर्को बैठकले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई तीन दिने स्पष्टीकरण सोधेको थियो ।निवर्तमान कार्यवाहक सभापति खड्काले अल्टिमेटम अवधि पूरा भइसक्दा पनि स्पष्टीकरण भने दिएका छैनन् ।
यद्यपि, उनले स्पष्टीकरण सोधिएकै दिन अनुशासन समितिको निर्णयलाई अवैधानिक भनेका थिए ।७ वैशाखको बैठक अघि एक पदाधिकारीले अनलाइनखबरसँग खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने बताएका थिए । तर, बैठकबाट त्यसबारे कुनै निर्णय भएको थिएन ।
रामेछाप सभापति तामाङले भने स्पष्टीकरण बुझाइसकेको बताएका छन् ।