काठमाडौं - सरकारले उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएसँगै भूमिहीन एवं सुकुमवासीहरूको स्क्रिनिङ गरिरहेको छ ।काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेर स्वास्थ्य जाँच गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हाे ।
शनिबार बिहानबाट नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराइएको हो । यस क्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेस्क स्थापना गरी सरकारले वास्तविक सुकुमवासीको पहिचान गरिरहेको छ । रंगशाला पुगेका सुकुमवासीहरूलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।
अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरु समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।
यस्तै मनोसामाजिक परामर्शका लागि वहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरुले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएका छन् । पारिवारिक तथा रोजगारीका कारण मनमा धेरै कुरा खेलाउने, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने जस्ता विषयमा धेरै चिन्ता देखिएको, स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले जानकारी दिएका छन् ।