पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संंकलन गरेको छ । कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १६ अर्ब २० करोड रुपैयाँ अर्थात् १० प्रतिशत बढी राजस्व संंकलन गरेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको नौ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व संंकलन गरेको बताए । भन्सार विभागले कार्यालयका लागि चालु आवको नौ महिनामा भने एक खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ लक्ष्य निर्धारण गरेको थियो ।
वीरगञ्ज भन्सारले चालु आवको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोजमा १९ अर्ब नौ करोड रुपैयाँ, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संंकलन गरेको थियो ।
त्यस्तै पुसमा २० अर्ब २० करोड रुपैयाँ, माघमा १८ अर्ब ९२ करोड रुपैयाँ, फागुनमा १९ अर्ब ३४ करोड रुपैयाँ र चैतमा २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व संंकलन गरेको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संंकलन गर्ने लक्ष्य दिएको थियो ।
तर, चालु आवको नौ महिनामा कूल वार्षिक लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व संंकलन हुन सकेको छ । चालु आवको तीन महिना अझै बाँकी रहेकाले पनि थप राजस्व संंकलन हुने सम्भावना भने कायमै छ ।