काठमाडौं - गैर आवासीय नेपाली संघका उपाध्यक्ष लोक प्रसाद दाहालले सरकारले १ खर्ब रुपैयाँको डायस्पोरा बण्ड ल्याउने योजना सार्वजनिक गरे पनि विगतका अभ्यासहरूको भने गम्भीर समीक्षा गर्नु पर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार धारणा सार्वजनिक गर्दै उपाध्यक्ष दाहालले विगतमा वैदेशिक रोजगारी बचत बण्डमा देखिएको न्यून सहभागिताका कारण यस पटक विश्वासिलो र आकर्षक लगानी मोडलको खाँचो महसुस गरिएको उल्लेख गरेका हुन् ।
उनले सानादेखि ठूला लगानीकर्ता र विदेशी पासपोर्टधारी नेपालीसमेतलाई समेट्ने गरी ‘सामूहिक लगानी कोष’ को अवधारणा अघि पनि सारेका छन् । जलविद्युत, पूर्वाधार, कृषि र पर्यटन जस्ता क्षेत्रमा लगानी गरी विदेशमा रहेको १०० खर्बभन्दा बढीको आर्थिक सम्भावनालाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने प्रबल सम्भावना रहेको चर्चा गर्दै अब सरकार, एनआरएनए र निजी क्षेत्रबिचको दरिलो सहकार्य नै डायस्पोरा पुँजीलाई राष्ट्र निर्माणमा लगाउने मुख्य कडी बन्ने उल्लेख गरे ।
यस्तै, एनआरएनएको पछिल्लो एकता र बलियो सरकार निर्माण भएकाले डायस्पोरामा नयाँ आशा र उत्साहको सञ्चार गरेको पनि उल्लेख गरे । उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै नेपाल सरकारले पनि एनआरएनका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद पनि दिएका छन् ।सरकारले प्रतिबद्धता पत्र मार्फत हालै डायस्पोरालाई लक्षित गर्दै वार्षिक १ खर्ब रुपैयाँ बराबरको ‘डायस्पोरा बण्ड’ ल्याउने घोषणा गरेको थियो । गैर आवासीय नेपाली संघको तथ्याकं अनुसार अहिले पनि विदेशमा ८० लाख नेपाली रहेका छन् ।