काठमाडौं - नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट एक खर्ब रुपैयाँ खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता भए पनि केन्द्रीय बैंकले ५६ दिने अवधिको निक्षेप संकलन उपकरण मार्फत सो रकम खिच्न लागेको हो ।
बुधबार मात्रै ४० अर्ब रुपैयाँ बराबरको ५६ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको बैंकले शुक्रबार पनि सोही अवधिका लागि खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार बुधबारसम्ममा वित्तीय प्रणालीमा करिब ७६ अर्ब तरलता रहेको छ ।
तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेका पैसा परिपक्व हुने भएपछि त्यसलाई फेरि खिच्नका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा पैसा राख्छन् ।
निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ ।
त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत पैसा पठाउँछ ।केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।