काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । विभिन्न विषयगत संसदीय समितिहरूका सभापति चयन गर्दै जिम्मेवारी बाँडफाँट गरिएको छ।
नयाँ व्यवस्था अनुसार कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा सविना वाग्ले चयन भएकी छन् भने कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको नेतृत्व अशोक चौधरीले सम्हाल्ने भएका छन्।
पूर्वाधार विकास समितिको सभापतिमा आशीष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी तथा राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल चयन भएका छन्। त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी श्रेष्ठ नियुक्त भएका छन्।
संसदीय सुनुवाइ समितिको नेतृत्व बोधनारायण श्रेष्ठले गर्नेछन् भने राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्की चयन भएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुनिमा उदास, अर्थ समितिमा कृष्णहरी बुढाथोकी तथा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी सभापति बनेका छन्।सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा रहने व्यवस्था अनुसार गठन गरिने जनाइएको छ।
