काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ। सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।संसदीय समितिका सभापतिमा मनोनयन दर्ता हुने समयअघि रणनीति तय गर्न बैठक बोलाइएको हो
बिहीबार नै सभापति पदका लागि मनोनयन दर्ता हुँदैछ।यसअघि चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरूको टुंगो लगाएको थियो भने सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार समितिका सभापतिको निर्वाचन मिति तय गरेका थिए।
संघीय संसद् अन्तर्गत कुल १६ वटा समिति रहेका छन्, जसमध्ये प्रतिनिधिसभा अन्तर्गत १०, राष्ट्रिय सभा अन्तर्गत ४ र दुई वटा संयुक्त समिति छन्। राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापतिहरू चयन भइसकेका छन् भने प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको निर्वाचन हुन बाँकी रहेको छ।