काठमाडौं - मन्त्री पद नपाएपछि गण्डकी प्रदेशका एक प्रदेशसभा सदस्यले राजीनामा दिएका छन्। नेपाली कांग्रेसका सांसद द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका हुन्।
बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले बुधबार गण्डकी प्रदेशसभाका सभामुखसमक्ष राजीनामा पेश गरेका छन्। उनले माघ २ गतेदेखि लागू हुने गरी पदत्याग गरेको जनाएका छन्।
राजीनामा पत्रमार्फत उनले आफूलाई निर्वाचित गराउने मतदाता र समर्थकप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचना गरेका छन्। पदमा नरहे पनि जनसेवा निरन्तर जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
यस अवधिमा सहयोग गर्ने दलका नेता, सहकर्मी सांसद, कर्मचारी तथा शुभेच्छुकप्रति पनि उनले धन्यवाद दिएका छन्। कुँवर नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्।
उता, बुधबारै गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको थियो। सो क्रममा आफू आकांक्षी भए पनि समावेश नगरिएपछि उनले राजीनामा दिएको बुझिएको छ।