काठमाडौं - नेपाली कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता छान्ने भएको छ। पार्टीभित्रको आन्तरिक विवादको कारणले कांग्रेसले अहिलेसम्म दलको नेता चयन गर्न नसकेपछि वैशाख ४ गते संसदीय दलको नेता छान्ने मिति तय गरेकाे हाे ।
संसदीय दलको नेता चयनमा अब ढिला नगर्ने महामन्त्री गुरुराज घिमिरेले बताए। उनले भने, ‘४ गते दलको नेता चयन गर्ने कुरा भएको छ। भएसम्म सहमतिमा गर्छौँ, नत्र चुनावमै गएर भएपनि टुंग्याउनेगरी छलफल भइरहेको छ।’
पार्टीले अहिले सहमतिको प्रयासलाई जोड दिइरहेको समेत उनले बताए। कांग्रेसको दलको नेतामा अर्जुननरसिंह केसी, भीष्म आङदम्बे, मोहन आचार्यलगायत नेताहरुको दाबी छ। कांग्रेस सभापति गगन थापाका ससुरासमेत रहेका केसीले पनि अझै दाबी छाडेका छैनन्। तर उपसभापति विश्वप्रकाश शर्माले केसीलाई अब विश्राम लिन आग्रह गरिसकेका छन्।
पूर्वसभापति शेरबहादुर देउवानिकट रहेका आङदम्बे पनि दलको नेतामा दाबी गर्दै पछिल्लो समय संस्थापन पक्षमा खुलेका छन्।