काठमाडौं - सरकारले औषधिको मूल्यवृद्धि सम्बन्धमा देखिएको विवादबारे छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य सचिवलाई पत्र लेख्दै औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनविपरीत प्रक्रिया पूरा नगरी औषधिको मूल्य बढाएको भन्ने उजुरी परेको जनाएको हाे ।
सोही उजुरीका आधारमा कार्यालयले मन्त्रालयलाई यथार्थ विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । पत्रमा मन्त्रालयलाई विषयगत विज्ञको संलग्नतामा तीन सदस्यीय समिति गठन गर्न र औषधिको मूल्य निर्धारण प्रक्रिया के हो, सो प्रक्रिया पालना गरिएको हो वा होइन, तथा अनियमितता भएको भए त्यसमा कसको संलग्नता रहेको छ भन्ने विषयसमेत समेटेर विस्तृत प्रतिवेदन तयार गर्न भनिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त छानबिन प्रतिवेदन सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।