काठमाडौं- सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तरता दिन आइतबारसमेत अस्पतालका बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आइतबारको बिदाका कारण बिरामीलाई मर्का पर्न नदिन यस्तो व्यवस्था मिलाउन सबै अस्पताल र स्वास्थ्य निकायलाई निर्देशन दिएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू हुँदैछ। सोही सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाइराख्न मन्त्रालयले नयाँ कार्यविधि अघि सारेको हो।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार अस्पतालले आइतबारको हकमा आफ्नो कार्यबोझ (वर्कलोड) र उपलब्ध जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउनुपर्नेछ। यसरी आइतबार काम गर्ने कर्मचारीलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन नै बिदा पाउने गरी व्यवस्था मिलाउन भनिएको छ।
‘विभिन्न कारणले बिदा दिन नसकिने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले प्रादेशिक अस्पतालहरूमासमेत यही बमोजिमको व्यवस्था मिलाउन र सम्बन्धित प्रदेशका स्वास्थ्य मामिला हेर्ने मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ।