काठमाडौं - नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार सोमबारका लागि शल्यक्रियाको योजना बनाइएको छ ।
‘अहिले स्वास्थ्य अवस्था स्थिर छ । हामीले शल्यक्रियाको तयारी सोमबारलाई योजना बनाएका छौं,’ ती चिकित्सकले अनलाइनखबरसँग भने, ‘ सायद त्यसभन्दा अगाडि डिस्चार्ज हुन हुन्न होला ।’शल्यक्रियाबारे ओलीसँग छलफलपछि निर्णय लिइने ती चिकित्सकले बताए ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गृहमन्त्री सुदन गुरुङले उनलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले यथेष्ट कारण देखाउँदै लिखित पत्र दिनुपर्ने भनेपछि १४ चैत मा ओलीलाई गुण्डु निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो ।प्रहरीले पनि नियन्त्रणमुक्त गरेपछि ओली पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।