काठमाडौं - सरकारले पेट्रोलियम पदार्थमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमध्ये पूर्वाधार र भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
भन्सार महसुलबापत पेट्रोलमा २५ रुपैयाँ २३ पैसा र डिजेलमा १२ रुपैयाँ २ पैसा कर लाग्दै आएको छ । त्यस्तै पूर्वाधार करबापत दुवै (पेट्रोल र डिजेल) मा १० रुपैयाँका दरले कर लाग्दै आएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
यो निर्णयसँगै प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ ५० पैसा र डिजेलमा ११ रुपैयाँ कर छुट हुनेछ । यसअघिसम्म एक लिटर पेट्रोलमा मात्रै ६६ रुपैयाँ ९८ पैसा कर लाग्दै आएको थियो । यस्तै डिजेलमा प्रतिलिटर ४९ रुपैयाँ २८ पैसा कर लाग्ने गरेको थियो । यसअन्तर्गत अतिरिक्त मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार कर, मूल्य स्थिरीकरण कोष शुल्क, प्रदूषण कर र हरित कर राज्यले उठाउँदै आइरहेको छ ।
त्यस्तै घरेलु उपभोगका लागि प्रयोग हुने एलपी ग्यासको एक सिलिन्डरमा राज्यले ३२४ रुपैयाँ ९५ पैसा कर उठाउँछ । हवाई इन्धनमा पनि प्रतिलिटर ३४ रुपैयाँ ४८ पैसा कर राज्यले उठाउँदै आएको छ ।