काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेशअनुसारको समयावधिमा अनुसन्धान सम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकात सम्पन्न गर्न आदेश दिएको हो ।
‘जिल्ला अदालतबाट मिति २०८२/१२/२२ मा भएको आदेशअनुसारको समयावधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रोपटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । सो रिटका सन्दर्भमा भने प्रतिवादीहरुलाई बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने जनाइएको छ ।
वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको भोलिपल्टै यही चैत १४ गते ओली र लेखक पक्राउ परेका थिए । उनीहरुलाई गत भदौ २३ को जेन-जी विद्रोहका क्रममा गोली प्रहार गरी युवाहरु मारिएको घटनामा दोषी रहेको आरोपसहित प्रहरीले हिरासतमा राखेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । पूर्वप्रधानमन्त्री ओली स्वास्थ्यका कारण महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएर बसेका छन् ।