- एमसिसीदेखि निर्वाचनसम्मै साम्राज्यवादी शक्तिको नांगो रुप प्रकट भएको वरिष्ठ नेता झलनाथ खनालको टिप्पणी
- कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेगरी षड्यन्त्र भइरहेको नेता जगन्नाथ खतिवडाको भनाइ
- नेता अग्नि सापकोटाको टिप्पणीः कम्युनिस्टहरूलाई हराउन रास्वपा र बालेनलाई प्रयोग गरियो
काठमाडौं- पछिल्लो ३५ वर्षको अवधिमा यसपटक नेपालका कम्युनिस्ट पार्टीहरू सर्वाधिक कमजोर भएपछि पश्चिम-बंगालमाजस्तै मासिन सक्ने टिप्पणीबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर समीक्षामा जुटेको छ । चुनाव सम्पन्न भएको एक महिनापछि हारको समीक्षामा जुटेको नेकपामा केही नेताले ‘साम्राज्यवादी षड्यन्त्र’ हारको मुख्य कारक औंल्याएका छन् ।
संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा बोलेका सात जनामध्ये अधिकांश नेताहरूको विचारमा नेपालमा कम्युनिस्ट पार्टी मास्ने उक्त शक्तिको मुख्य ध्येय छ । जेन-जी विद्रोह र गत निर्वाचनमा कम्युनिस्ट पार्टीहरूलाई कमजोर बनाउन नांगो रूपमा उक्त प्रकट भएको पनि उनीहरूको आरोप छ । अमेरिकालाई नेपाली कम्युनिस्टहरू साम्राज्यवादी शक्तिको अथ्र्याउँछन् ।
सोमबारको बैठकमा नेकपा नेता झलनाथ खनाल, अग्नि सापकोटा, वामदेव गौतम, जगन्नाथ खतिवडा, किरण पुन, भानुभक्त जोशी, प्रेमबहादुर सिंह, सुनिल मानन्धरलगायतमध्ये अधिकांश नेताले जेन-जी आन्दोलनदेखि लिएर निर्वाचनसम्मका गतिविधिले साम्राज्यवादी षढयन्त्र प्रस्ट देखिने तर्क गरे । ‘यिनीहरू जसरी अगाडि बढे, कम्युनिस्ट आन्दोलनलाई समाप्त नपारी यिनीहरू रोकिनेवाला छैनन् । यसको राजनीतिक प्रतिवाद जरुरी छ,’ नेता खतिवडाले बैठकमा भने ।
पूर्वप्रधानमन्त्री खनालले एमसिसीदेखि प्रतिनिधिसभाको निर्वाचनसम्मका घटनाक्रममा साम्राज्यवादी शक्तिको हस्तक्षेप देखिएको बताए । एमसिसी अमेरिकी सरकारको रणनीतिक परियोजना हो जुन १५ माघ २०७८ मा प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित पारित भएर कार्यान्वयनमा छ । यो परियोजनालाई समेत जोडेका खनालको भनाइमा निर्वाचनसम्मै साम्राज्यवादी षड्यन्त्र प्रकट भएको थियो ।
उनले अब प्रस्ट रुपमा राजनीतिक अन्तरविरोध किटान गरेर जानुपर्ने पनि बताए । अब कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने र त्यसका लागि अन्तरविरोध किटान गर्नु अपरिहार्य भएको उनको भनाइ थियो । ‘प्रधान राजनीतिक अन्तरविरोध हाम्रो के हो ? त्यो किटान गरेर जानुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यदि त्यसो गरेनौं भने हाम्रो लडाइँ कोसँग हो ? अलमलमा पर्छौं ।’
उनले कम्युनिस्टहरू कमजोर हुनुमा नेतृत्व तहबाट पटक-पटक कमजोरी भएको पनि बताए । उनले नेतृत्व भनेर पार्टी संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपाललाई संकेत गरेका हुन् । अर्का नेता अग्नि सापकोटाले पनि साम्राज्यवादी शक्तिले कम्युनिस्टहरूलाई हराउन ठूलो लगानी गरेको आरोप लगाए । त्यसका लागि ‘प्रियतावादी’ शक्ति रास्वपा र बालेनलाई प्रयोग गरेको उनको भनाइ थियो । उक्त शक्तिका नेता रवि लामिछानेलाई पार्टी संयोजक दाहालले पटक-पटक सरकारमा अवसर दिएको र उनको प्रतिरक्षा गरिरहँदा नोक्सानी नेकपालाई भएको पनि नेताहरूले आरोप लगाएका थिए ।
दाहाल सरकारमा लामिछाने दुईपटक उपप्रधान तथा गृहमन्त्री भएका थिए । तर, जेन-जी विद्रोहका उनै लामिछानेलाई साम्राज्यवादी शक्तिले प्राधिकारीका रूपमा प्रस्तुत गरेको र थुनाबाट मुक्त गर्नेसम्मको कार्य साम्राज्यवादीहरूकै योजना मुताविक भएको लाञ्छना लगाए ।
नभए कम्युनिस्ट पार्टीहरू यत्ति कमजोर हुने उनीहरूको भनाइ थियो । २०४८ देखि २०७९ सम्म देशका विभिन्न नामका कम्युनिस्ट शक्तिहरू बलिया थिए । २०१५ देखि संसदीय राजनीति प्रवेश गरेका कम्युनिस्टहरूले केही संसदमा भने स्पष्ट वर्चश्व जमाए । २०१५ मा १०५ मध्ये ४ सांसद सिटको कम्युनिस्ट पार्टीले २०४८ मा २०५ मध्ये ८१ सिट जित्यो । २०५१ मा २०५ मध्ये ९२ सिट जित्दै पहिलो कम्युनिस्ट सरकारसमेत गठन भयो । २०६४ मा ६०१ मध्ये ३७० (बहुमत) जित्दै कम्युनिस्टहरू वर्चश्व जमाउन सफल भए । २०७० मा ६०१ मध्ये २८२ (बहुमत) सिट कम्युनिस्टहरूले जिते । २०७४ मा २७५ मध्ये १७६ (बहुमत) सिट जित्यो । २०७९ मा २७५ मध्ये ११२ (अल्पमत)मा कम्युनिस्टहरू परे । यसपटकको निर्वाचनमा भने २५० सिटमध्ये सबै कम्युनिस्ट पार्टीहरूको सांसद गर्दा ६० सिट पनि भएन ।
हालै प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापाले पनि नेकपा नेताहरूले जसरी एमालेको हारमा अमेरिकालाई दोष दिने काम घुमाउरो शैलीमा गरेका थिए । अमेरिकाको समर्थनप्राप्त स्वतन्त्र तिब्बत अभियानमा सक्रिय टिबेटान ओरिजिनल ब्लड (टिओबी) लाई जिम्मेवारी ठह¥याएका थिए । आन्तरिक कारणमा सुशीला कार्की सरकार, सेना र कर्मचारीतन्त्रले गर्दा पनि कम्युनिस्टहरू हारेको उनको भनाइ थियो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि केही दिनअघि साम्राज्यवादी शक्तिहरू नेपालमा लुप्त रुपमा प्रकट भएको भन्दै चिन्ता प्रकट गरेका थिए । तर, रास्वपा सभापति लामिछानेले चुनावी हारको दोष विदेशी शक्ति भनेर इंगित गर्नु मतदाताको अपमान भनेका थिए ।