काठमाडौँ - नेकपा एमालेका नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई 'राजनीतिक प्रतिशोध' को संज्ञा दिँदै यसको कडा प्रतिवाद गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एउटा लामो स्ट्याटस लेख्दै बस्नेतले बालेन शाह नेतृत्वको सरकार र नवनियुक्त गृहमन्त्री सुदन गुरुङको कदमप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।
नेता बस्नेतले बालेन सरकारले सुदन गुरुङ जस्ता "अनुभवहीन, अराजक र विवादित" व्यक्तिलाई गृहमन्त्री बनाएको आरोप लगाउँदै उनीमार्फत प्रतिशोधपूर्ण राजनीति सुरु गरिएको दाबी गरेका छन्। "राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्त्वपूर्ण सूचक मानिन्छ," बस्नेतले लेखेका छन्, "नेपाल विगतमा यसको राम्रो उदाहरण मानिन्थ्यो, तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ।"
उनले सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने र आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरी प्रशासन आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौँको सङ्ख्यामा खटिएको देख्दा दुःख लागेको उल्लेख गरेका छन्। यस गिरफ्तारीले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको र राजनीतिक पूर्वाग्रहको झल्को दिएको उनको ठहर छ। 'प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न' भन्दै बस्नेतले एमालेको तर्फबाट आजैदेखि सुरु हुने प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान समेत गरेका छन्। उनले विरोध कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिने जनाएका छन्।
आज बिहान गुण्डु स्थित आफ्नो निवासबाट केपी ओली पक्राउ परिसकेका छन् भने पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि उनकै निवासबाट पक्राउ गरिएको सुदन गुरुङले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।