पर्वत- पर्वतमा चैते धान रोपाइँ हुने क्षेत्रफल बर्सेनि घट्दै गएको छ । कतिपय धानखेती हुने फाँटमा सडक विस्तार र बजार विस्तार हनु, बाँदर आतङ्क, जनशक्ति अभावलगायत कारणले चैते धान रोपाइँ हुने क्षेत्रफल घट्दै गएको हो ।
चैते धान लगाउन सिँचाइ सुविधा नहुनु तथा युवा जनशक्ति वैदेशिक रोजगारी, शिक्षालगायत कारणले बाहिरिनुले पनि धानखेती हुने क्षेत्रफल घट्दै गएको जिल्लास्थित कृषि विकास कार्यलयले जनाएको छ । कार्यलयका अर्थविज्ञ प्रकाश चौधरीले सिँचाइ अभाव, जनशक्ति नहुनु, मल र बीउको अभाव, मौसमी परिवर्तनलगायत कारणले यसप्रति किसानको आकर्षण घट्नाले पनि रोपाइँ हुने क्षेत्रफल घट्दै गएको बताए । “जिल्लामा सबैभन्दा बढी चैतेधान खेती हुनेमा पैँयू गाउँपालिकाको हटिया, अर्थुनलगायत स्थानमा गाउँपालिकाको केन्द्र स्थापना भई बजार विस्तार भएपछि रोपाइँ हुन छाडेको छ”, उनले भने ।
यसैगरी विहादी गाउँपालिकाको बर्राचौर फाँटमा पनि कालीगण्डकी लोकमार्ग निर्माण तथा बजार विस्तार हुनाले धान रोपाइँ हुने फाँटमा अहिले घर निर्माण हुन थालेका अर्थविज्ञ चौधरीले बताए । फलेवास नगरपालिकाको पाङराङमा चैतेधान लगाउने खेत क्रमशः घडेरी बन्दै गएका छन् । उनका अनुसार कुश्माको पाङ, खुर्कोट मोदीको बाजुङ, देउपुरलगायत फाँटहरूमा पनि चैतेधान लगाउन छोडिएको छ ।
चैतेधानको बीउ अभाव, जनशक्तिको अभाव, लगानी भन्दा उत्पादन कम हुनेलगायत कारण खेती गर्न छाडेका कुश्मा नगरपालिका-२ का कृषक वैकुण्ठ शर्माले बताए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा चार सय ४० हेक्टर क्षेत्रफलमा गरिएको चैतेधानको खेती चालु आवमा तीन सय ४० हेक्टर क्षेत्रफलमा सीमित भएको छ ।
कार्यलयका अर्थविज्ञ चौधरीका अनुसार चैतेधान हुने खेतका फाँट क्रमशः बजार क्षेत्रमा परिणत हुनु, जनशक्तिको अभाव, मलर बीउको अभाव, सिँचाइको कमी, बाँदर आतङ्कलगायत समस्याका कारण चैतेधान लगाउने किसानको सङ्ख्या घटेको हो । पर्वतमा ‘चैते-५’ र ‘स्थानीय टकमारे’ जातका धान लगाउने गरिएको उनले जानकारी दिए ।
सङ्घीय सरकारको धान जोन इकाई, गण्डकी प्रदेशअन्तर्गतको कृषि विकास कार्यलय र सात स्थानीय सरकारका कृषि विकास शाखाले धान उत्पादनको क्षेत्रमा बर्सेनि बजेट कार्यान्वयन गरिरहेको भएपनि क्रमशः चैतेधान रोपाइँ हुने फाँटको क्षेत्रफल घट्दै गइरहेको अर्थविज्ञ चौधरीले बताए । उनका अनुसार जिल्लाका बर्खेधान नौ हजार २१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ ।