काठमाडाैं - आगामी तीन दिन मौसम बदलीसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सचेत रहन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान रहेकाे छ ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्न, विद्युतीय उपकरण नचलाउन एवं जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको छ । घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काम नपरी यात्रामा ननिस्कन आग्रह गरेको छ ।