इजरायल-इरान द्वन्द्वका कारण अहिले विश्वमा तेलको ढुवानी रोकिने सम्भावना बढेको छ । अमेरिका र इजरायल मिलेर आफ्नो देशमाथि आक्रमण गरेपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरिदिएको घोषणा गरेको छ । स्ट्रेट अफ हर्मुज यस्तो नाका हो, जहाँबाट विश्वभर खपत हुने कच्चा तेल साउदी अरेबिया, कतार, युएई, इरानलगायत देशबाट भारीमात्र ढुवानी हुने गर्छ ।
यो नाका खासगरी आफूविरोधी राष्ट्रका लागिमात्र इरानले बन्द गरेको हो । यसै कारण देखाउँदै विश्वव्यापीरुपमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपालमा चैत १ बाट डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य १५ रुपैयाँले बढेको छ । यही कारण देखाउँदै यातायात व्यवसायी महासंघले सर्वजनिक यातायातको भाडा बढाउन सरकारलाई दबाब दिएको छ ।
महासंघले भाडा समायोजन नियमित भनेको छ । जबकि इजरायल-इरान द्वन्द्व रोकिनासाथ पेट्रोलियम पदार्थको मूल्य स्वतः घट्ने छ । अहिले ग्यास नपाउँदा, तेल नपाउँदा र युद्धको असरका कारण नेपाली पनि आत्तिएका छन् । रोजगारीको ठेगान छैन । अर्थतन्त्र ओरालो लागेको अवस्था छ । यस्तो बेला यातायात व्यवसायीले जबरजस्ती भाडा समायोजन गर्न खोज्नु आफैंमा लुट मच्चाउने प्रयास हो ।
यातायातमा भाडा बढाएसँगै हरेक वस्तुको भाउ बढ्ने छ । सबै व्यवसायी यही कुरी बसेका छन् । जब बस भाडा बढ्छ तब हरेक उपभोग्य वस्तुको भाडा बढाउनेगरी व्यवसायीहरुले तयारी गरेका छन् । यसले जनजीवन प्रभावित पार्ने निश्चित छ । नेपालीको रोजगारीको विकल्प मानिएको खाडी राष्ट्र अहिले आतंकित छ । बेलाबेला हुने मिसाइल आक्रमणका कारण कतिबेला स्वदेश फर्कने भन्ने चिन्ता त्यहाँ रहेकाहरुमा छ । यता स्वदेशमा बिदा मनाउन र चुनावको बेला आएकाहरु नियमित उडान नहुँदा नेपालमै रोकिएका छन् ।
यी विषयले भोलिका दिनमा जागिर के होला ? कमाई के होला भन्ने चिन्ता नेपालीहरुमा देखिन्छ । यही मौका छोपेर यातायात व्यवसायीले भाडा समायोजन गर्न खोज्नु अविवेकी हुन्छ । यस्तो बेला व्यवसायीले सहुलियत दिएर सेवा दिनुपर्नेमा मौका छोपेर महँगी बढाउनु आफैंमा असहिष्णु कदम हो । यस विषय सरकारले पनि विशेष ध्यान दिनुपर्छ । विशेष अध्ययन गरी केही दिन पर्खेरमात्र यसमा सरकारले कदम चाल्नुपर्छ । द्वन्द्व साम्य भएपछि पनि पेट्रोलियम पदार्थको मूल्य नघटेमामात्र सरकारले यसमा यथोचित कदम चाल्नुपर्छ । अहिलेको अवस्थामा व्यवसायीको दबाबमा परी सार्वजनिक यातायातको भाडा बढाउनु भनेको जनतामाथि महँगीको भार थोपर्नु हो । यो काम सरकाले नगरोस् ।