नेपालको संसदीय इतिहासमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले एउटा स्पष्ट र शक्तिशाली सन्देश दिएको छ- नेपाली मतदाता अब परम्परागत राजनीतिको ‘जडता’ भन्दा बाहिर निस्कन तयार छन् । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले १२५ सिटमा हासिल गरेको ऐतिहासिक जितले मुलुकमा नयाँ राजनीतिक शक्तिको उदयमात्र होइन, बरु वैकल्पिक राजनीतिको प्रस्ट अनुमोदन गरेको छ ।
यो निर्वाचन परिणामका केही उज्ज्वल पक्षहरू छन् । पहिलो, संसद्मा ‘नयाँ अनुहार’को बाहुल्यता हुनु । वर्षौंदेखि सीमित नेताहरूको वरिपरि घुमिरहेको नेपाली राजनीतिमा युवा, प्राविधिक विज्ञ र सामाजिक अभियन्ताहरूको प्रवेशले संसद्लाई थप ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ । रास्वपाका ११३ नयाँ अनुहारदेखि स्वतन्त्रका रूपमा निर्वाचित महावीर पुन र श्रम संस्कृति पार्टीका हर्कराज राईसम्मको उपस्थिति हुनुले संसद्मा अब नयाँ एजेण्डा र नवीन कार्यशैलीले स्थान पाउने देखिन्छ ।
दोस्रो, मतदाताले ‘सुशासन’ र ‘डेलिभरी’ लाई प्राथमिकता दिएका छन् । पुराना दलहरूको गुटबन्दी र सत्ताको खिचातानीबाट वाक्क भएका जनताले काम गरेर देखाउने व्यक्ति र नयाँ भिजन भएका दललाई विश्वास गरेका छन् । यसले राजनीतिक दलहरूलाई अब काम नगरे जनताले विकल्प खोज्छन् भन्ने गम्भीर चेतावनी दिएको छ । जति ठूलो जित छ, चुनौतीका चाङ पनि त्यति नै अग्ला छन् । नयाँ दल र नयाँ सांसदहरूका लागि सबैभन्दा ठूलो चुनौती ‘अनुभवको अभाव’ र ‘अति अपेक्षा’को व्यवस्थापन गर्नु हुने छ । संसद्को नियम, कानुन निर्माणको प्रक्रिया र जटिल कर्मचारीतन्त्रसँग जुधेर जनताको उच्च आकांक्षा पूरा गर्नु सहज छैन ।

यसअघि कहिल्यै सरकार नचलाएका नयाँ अनुहारहरूले अब देशको अर्थतन्त्र, परराष्ट्र नीति र विकासको गतिलाई कसरी अगाडि बढाउँछन् भन्नेमा सबैको चासो छ । पुराना दलहरूको जस्तो पदको लुछाचुँडी र आन्तरिक कलह दोहो¥याए भने जनतामा पलाएको यो ठूलो आशा झन् गहिरो निराशामा परिणत हुन सक्छ । अन्ततः, यो जनादेश परिवर्तनको पक्षमा छ । नयाँ अनुहारहरूले संसद्मा केवल संख्यामात्र थप्ने होइन, बरु नयाँ सोच र परिणाममुखी कार्यशैली पनि भित्र्याउनुपर्छ । पुराना दलहरूले पनि आफ्नो पराजयबाट पाठ सिक्दै आफूलाई सुधार्नुपर्ने बेला आएको छ । यदि नयाँ र पुराना शक्तिहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गरे भने यो निर्वाचन नेपालको समृद्धिका लागि कोसेढुंगा साबित हुने छ ।