इजरायल-इरान द्वन्द्व लम्बिँदै जाँदा पश्चिम एसिया क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षा जोखिम बढ्दै गएको छ । यो क्षेत्रमा १७ लाखभन्दा बढी नेपाली रोजगारी, व्यवसाय तथा अध्ययनका सिलसिलामा छन् । इरानले खाडी राष्ट्रका अमेरिकी बेस क्याम्पहरुमा आक्रमण थालेसँगै यो क्षेत्रमा नेपालीहरुले आफू सुरक्षित नभएको महसुस गर्न थालेका हुन् । यही विषयलाई मध्यनजर गर्दै सरकारले परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ । यो टिमले ती क्षेत्रमा अप्ठ्यारामा परेका नेपालीलाई आवश्यक समन्वय गर्न अनलाइन दर्ता सेवा सुरु गरेको छ । यो प्रणालीमा मंगलबार साँझसम्म करिब ६२ हजार जनाले आफ्नो विवरण दर्ता गराइसकेका छन् ।
यो क्षेत्रमा द्वन्द्व थप बढ्ने आशंकामा यी नेपालीहरुले नेपाल आउने चाहनासहित आफ्नो विवरण दर्ता गराएका हुन् । यो क्षेत्रमा रहेका देशहरुले अहिले हवाई सेवासमेत आंशिकमात्र सञ्चालन गरेका छन् । जसकारण नेपालीहरु आउने उडान पनि ठप्प छन् । नेपाल वायु सेवा निगमले आजबाट युएईको दुबईमा उडान गर्ने तयारी गरेको छ । यद्यपि यो उडान कतिको सहज हुन्छ र कहिलेबाट यसले निरन्तरता पाउँछ भन्ने निश्चितता छैन । अमेरिकी रक्षा सचिव पिट हेगसेथले आज इरानमा निकै शक्तिशाली हमला हुने चेतावनी दिएका छन् । यस्तो भएमा यो क्षेत्रमा अझै द्वन्द्व चर्कने निश्चित छ । यस्तो अवस्थामा नेपालले खाडी क्षेत्रमा नागरिकको सुरक्षामा त्यहाँको सरकारसँग अनिवार्यरुपमा समन्वय गर्नैपर्छ ।
यसैगरी सुरक्षित तवरले नेपाल आउन चाहनेहरुलाई वैकल्पिक हवाईमार्ग प्रयोग गरी उद्धार गर्ने तयारीसमेत सरकारले गर्नुपर्छ । बहराइन, कुवेतलगायत देशमा रहेको अमेरिकी सैन्य बेस क्याम्पमा सोमबार नै इरानले मिसाइल प्रहार गरेको थियो । यसैगरी इजरायलमा पनि इरानले जवाफी कारबाही गरेको छ । अमेरिकी सरकारको धम्कीसँग आफूहरु नडराउने भन्दै इरान चट्टानी अडान लिएर युद्धमा होमिएको अवस्थामा खाडी असुरक्षित बन्दै गएको छ । यो निकै भयभीत अवस्था हो । संसारभरका नेपालीका लागि सरकारले अभिभावकत्व प्रदान गर्न सक्नुपर्छ । यो बेला नेपालीहरुलाई समन्वय गरी आवश्यक परामर्शसमेत सरकारले दिनुपर्छ । खाडीमा रहेका नेपाली जो असुरक्षित महसुस गरी त्रासमा छन् उनीहरुलाई मानासिक परामर्श दिँदै सरकारले सुरक्षित रहेको अभास पनि दिलाउनुपर्छ । नयाँ सरकारले हेर्छ भन्दै अन्तरिम सरकार यस विषयबाट पन्छिन मिल्दैन । यो विषयमा सरकारले सूक्ष्मरुपमा आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।