- पार्टी खोलेको तीन महिनामै प्रत्यक्ष निर्वाचनबाट तीन जना प्रतिनिधिसभा सदस्य निर्वाचित
- सुनसरी-१ बाट ३५ हजार ७४१ मत ल्याएर साम्पाङ विजयी हुँदा उनको पार्टीबाट भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई निर्वाचित
- इलाम-१, इलाम-२, पाँचथर, मोरङ-१ मा श्रम संस्कृति पार्टीका उम्मेदवारहरू निकटतम प्रतिद्वन्द्वी
- समानुपातिकमा ‘थ्रेस होल्ड’ पार गर्दै थप चार सांसद जित्ने संकेत
काठमाडौं- केही वर्षअघिसम्म धरानका सडकमा माइक बोकेर एक्लै कराउँदै हिँड्ने विद्रोही पात्र थिए- हर्क साम्पाङ । उनलाई हठी र ‘अराजक’ भन्दै मानिसहरू बेवास्ता गर्थे । आज त्यही व्यक्ति नेपालको संघीय संसद् (प्रतिनिधिसभा) पुगेका छन् ।
एक्लो आन्दोलनबाट सुरु भएको उनको राजनीतिक पाइला संसद्तिर सोझिएको छ । फागुन २१ को प्रतिनिधि निर्वाचनमार्फत विधायकका रूपमा कानुन बनाउने जिम्मेवारीतर्फको यात्रा उनले सुनिश्चित गरेका छन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै उनले संसद् यात्रा तय गरेका हुन् ।
साम्पाङको कथा भने राजनीतिबाट सुरु भएको होइन । २०६४ सालतिर उनले ‘मिसिङ हर्ट’ नामको एल्बम निकालेर कलाकार बन्ने प्रयास गरेका थिए । सांगीतिक क्षेत्रमा टिक्न सकेनन् । अहिले पनि कहिलेकाहीँ उनी गितार बजाउँदै गीत गाउँछन् । धरानस्थित श्रम संस्कृति पार्कमा दुई महिनाअघिसम्म उनकै गीत बज्थ्यो ।
यसले पनि उनी एकबेला सांगीतिक क्षेत्रमा हाम्फालेका पात्र हुन् भन्ने देखाउँछ । उसो त उनको जीवनले अनेक मोड लियो । कहिले धरानका भाषा केन्द्रमा अंग्रेजी भाषा पढाए । कहिले इराक र अफगानिस्तानतिर वैदेशिक रोजगारीमा गए । विदेशबाट फर्केपछि भने उनको स्वभाव झन् विद्रोही भयो । धरानमा व्याप्त भ्रष्टाचार, बेथिति र सरकारी बेवास्ताविरुद्ध उनी सडकमा एक्लै आन्दोलन गर्न थाले । हाते माइक बोकेर एक्लै भाषण छाँट्दै हिँडे । त्यहीबेला उनले आफ्नो उपनाम राखे- ‘क्रान्ति’ ।
‘पानी आन्दोलन’ले बनायो ‘जननेता’
पूर्वी सहर धरानमा दशकौंदेखि खानेपानी समस्या थियो । त्यसैलाई मुद्दा बनाएर साम्पाङले जनश्रमदान अभियान सुरु गरे । उनले सर्वसाधारणलाई आह्वान गरे, ‘सरकारले गरेन भने हामी आफैं गर्छौं ।’ उनलाई साथ दिन धराने जनता तयार भए ।
त्यहीबीच २०७९ मा स्थानीय तहको निर्वाचन भयो । निर्वाचनमा उनले धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिए । स्वतन्त्र उम्मेदवार बनेका उनको प्रचारप्रसार टोली थिएन । एक्लै आफ्नो प्रचार गरेका उनको मूल एजेण्डा नै खानेपानी थियो । अन्ततः कांग्रेस, एमालेलगायत दलहरूलाई चकित पार्दै प्रमुख पदमा निर्वाचित भए ।
नगरप्रमुख भएपछि उनी खानेपानी समस्या समाधानमै तीन वर्ष केन्द्रित भए । शनिबारलाई श्रमबार भन्दै श्रमदान अभियान चलाए । उनलाई धराने जनताले बलियो साथ दिए । ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याए । त्यस क्रममा आफैं पाइप तान्न पुगे । पाइपभरी पानी धरानमा झरेपछि हर्षले हर्क रोए । मुख्य बजार क्षेत्र, बाँझो गरालगायत पानीको हाहाकार भएको क्षेत्रमा अहिले पानी पर्याप्त छ । भनिन्छ, दैनिक करिब १०-११ लाख लिटर पानी धरान ल्याइएको छ । यही अभियानले उनलाई एकैपटक राष्ट्रिय चर्चामा ल्यायो ।
संसद्तिर पाइला
साम्पाङको सामाजिक सञ्जालमा १३ लाख ‘फलोअर्स’ छन् । त्यो उनको बलियो हतियार हो । त्यहीँबाट उनले अभिव्यक्ति दिन्छन्, आलोचना गर्छन् र आफ्ना अभियान प्रचार गर्छन् । नेपाली कांग्रेस, नेकपा एमालेदेखि नयाँ शक्तिसमेत उनको आलोचनाबाट जोगिएका छैनन् । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसका नेतामाथि पनि उनी खुलेर टिप्पणी गर्दै आएका छन् । उनै साम्पाङले तीन महिनाअघि धरानको प्रमुख हुँदै प्रतिनिधिसभा सदस्य हुन चाहे । त्यसका लागि श्रम संस्कृति पार्टी दर्ता गरे । दलको अध्यक्ष भए । यही २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा त सुनसरी-१ बाट ३५ हजार ७४१ मत ल्याएर साम्पाङ निर्वाचित भए ।
उनको पार्टीबाट भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई निर्वाचित भए । इलाम-१, इलाम-२, पाँचथर, मोरङ-१ मा श्रम संस्कृति पार्टीका उम्मेदवारहरू निकटतम प्रतिद्वन्द्वी भए । देशको पूर्वी क्षेत्रका जिल्लाहरूमा यसपटक साम्पाङको दलका उम्मेदवारहरूले तहल्का मच्चाए । समानुपातिकतर्फ मतगणना जारी रहँदा तीन प्रतिशत मतको सीमा (थ्रेसहोल्ड) पार गरिसकेको स्थिति छ । अन्तिम मतपरिणाम आउँदासम्म यो कायम राखे उनको दलले थप चार सिट जित्ने देखिन्छ । साम्पाङको श्रम संस्कृति पार्टी पहिलो प्रयासमै सात सांसदसहित प्रतिनिधिसभामा उपस्थित हुने भएको हो ।
संसद्मा ‘हर्कवाद’
४३ वर्षीय साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको राजनीतिक विचारधारा ‘हर्कवाद’मा आधारित छ । हर्कवाद प्रकृति, संस्कृति र प्रविधिमा आधारित मौलिक राजनीतिक दर्शन भएको साम्पाङ बताउँछन् । सोही विचारधारा अंगीकार गरेका हर्क र उनका दल सांसदहरू अब प्रतिनिधिसभामा प्रवेश गर्दै छन् । यद्यपि, हर्कको राजनीतिक शैली सधैं विद्रोही, ठाडो र कहिलेकाहीँ विवादास्पद मानिन्छ । त्यसैले आम जिज्ञासा छ- धरानका सडकमा देखिएको विद्रोही आवाज अब प्रतिनिधिसभामा कत्तिको गर्जिने छ ?
कतिपयले उनलाई ‘सशक्त प्रतिपक्षीय नेता’ हुने आकलन गरिरहेका छन् । २०६४ यताका संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापा, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र पछिल्ला संसद्हरूमा सोही पार्टीका नेता प्रेम सुवाललाई प्रभावशाली प्रतिपक्षी नेताका रूपमा हेरिन्थ्यो । अबको संसद्मा साम्पाङलाई त्यही नेताहरूको कोटीमा देख्न पाइने आशा जनतामा देखिन्छ ।