गठन भएको पाँच महिनापछि बल्ल गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट तयार प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाए पनि के कस्ता विषय समेटिएका छन् भन्ने विषय बाहिर आएको छैन । प्रधानमन्त्री कार्कीले अध्ययन गरेर मन्त्रिपरिषद्मा पेस गर्ने बताएकी छन् । त्यसपछिमात्र कार्यान्वयनको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक गर्ने बताएकी छन् ।
प्रधानमन्त्रीले व्यक्त गरेको यसखाले अभिव्यक्ति आफैंमा शंकास्पद विषय हो । विगतमा यस्ता विभिन्न घटनामा आयोग बनेको र लामो समय अनुसन्धानपछि बुझाएका प्रतिवेदन सरकारले थन्क्याउने गर्थे । जसका कारण देशमा दण्डहीनता बढ्दै आयो र जनतामा आक्रोश बढ्दै आयो । यही कारण भदौ २३ र २४ गते जनता सडकमा उत्रिन बाध्यसमेत बन्यो । यही विद्रोहले सरकार ढल्यो भने छ महिनाभित्रै निर्वाचन पनि भयो । यो निर्वाचनले पुराना दललाई लगभग बढारेको छ । यो दण्डहीनता, मनपरि शासनविरुद्धको विद्रोह हो । जसमा १९ जनाले संसद् भवन अगाडि नै सहादत प्राप्त गरे भने यो विद्रोहको क्रममा ७६ जनाले ज्यान गुमाए ।
यस क्रममा खर्बौंको सरकारी सम्पत्तिमा क्षति भएको छ भने व्यक्तिगत घरमा पनि क्षति पुगेको छ । पक्कै पनि यी सबै विषयलाई समेटेर कार्की आयोगले न्यायपूर्ण तवरले प्रतिवेदन तयार गरेको हुनुपर्छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले आन्दोलनमा गल्ती गरेकालाई कारबाहीको सिफारिस गरेको दाबी गरेका छन् । शर्माले पनि सुरक्षा कमजोरीकै कारण भदौ २३ गते युवाहरुमाथि गोली प्रहार भएको आशयको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । त्यतिबेला सरकार प्रमुख थिए एमाले अध्यक्ष केपी शर्मा ओली ।

ओली नेतृत्वको सरकारविरुद्ध उक्त विद्रोह भएको थियो । सोही विद्रोहको बलमा ओली सरकार ढल्यो । त्यतिबेला विद्रोह रोक्न सरकारले सामाजिक सञ्जालसमेत बन्द गरेको थियो । तत्कालीन सत्तामा भएकाहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा कर्मचारीको कमाण्ड सम्हालेकालाई मात्र कारबाहीको दायरामा ल्याउने संकेत आयोगको प्रतिवेदनले गरेको छ । यसो भएमा फेरि पनि ‘सानालाई ऐन, ठूलालाई चैन’ शैलीकै काम हुने छ । यसले कार्की सरकारले कमाएको विश्वास क्षणमा सकिने छ नै नयाँ सरकारलाई पनि अप्ठेरोमा पार्ने छ । त्यसैले जेन-जी विद्रोहको क्रममा भएको दमन र विध्वंशमा मूल दोषीलाई कारबाहीको दायरामा ल्याउन ढिला नहोस् । प्रतिवेदन कार्यान्वयन गर्न खुट्टा नकमाइयोस् ।