प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोलि देशभर मतदान हुँदै छ । मतदानको पूर्वसन्ध्यामा निर्वाचनलाई आतंकित पार्ने खालका घटनाहरु छिटफुट हुन थालेका छन् । मंगलबार काठमाडौंको नैकाप र सुकेधारामा गाडीमा आगजनी भयो । कैलालीको धनगढीमा दुई समूहबीच झडप हुँदा प्रहरी घाइते भए । यता ललितपुरको महालक्ष्मीस्थानमा प्रहरीमाथि दुव्र्यवहार भयो भने बारा एकमा एक उम्मेदवारले बन्दुक नै पड्काए । यसैगरी देशका विभिन्न स्थानमा शंकास्पद वस्तुले नागरिकलाई तर्साउने प्रयास भएको छ ।
भयरहित वातावरणमा मतदानमा भाग लिन पाउनु सबै नागरिकको अधिकार हो । तर निर्वाचनको पूर्वसन्ध्यामा यस्ता तत्वहरु सक्रिय हुनु भनेको त्रासको सिर्जना हो । यसले धेरै मतदातालाई मतदान केन्द्रसम्म पुग्न सहज बनाउँदैन । त्यसैले पनि सुरक्षा निकायले विशेष ध्यान दिनैपर्छ । निर्वाचन सुरक्षाका लागि सरकारले सेना नै खटाएको छ । यता नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन प्रहरी र सम्बन्धित स्थानीय तहको सुरक्षाकर्मी गर्दा पाँच तहका सुरक्षा निकाय निर्वाचनमा खटिएको भनिएको छ ।
गृह मन्त्रालयको तथ्यांकअनुसार निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् । यो निर्वाचनमा झण्डै चार लाख सुरक्षाकर्मी परिचालन भएको देखिन्छ । सुरक्षाकर्मीको परिचालन मानसिकरुपमा आपराधिक तत्वको मनोबल कमजोर बनाउन हो भने नागरिकको मनोबल बलियो बनाउन हो । तर मतदानको दिन नजिकिँदा त्रसित बनाउने खालका घटना हुनु सुरक्षाकर्मीको उपस्थिति कमजोर देखिनु हो ।

निर्वाचनका लागि आएका निर्वाचन प्रहरीलाई सडक सुरक्षाको जिम्मेवारी दिएर प्रहरीहरु विभिन्न जिल्लामा खटिएको पनि देखिएको छ । जसका कारण सडक दुर्घटनका घटना बढ्न थालेका छन् भने थप दुर्घटना हुने जोखिम पनि उत्तिकै बढ्दो छ । निर्वाचन पर्व हो । यस्तो बेला शान्ति सुरक्षा र अमनचयनको ग्यारेण्टी दिने काम सरकारको हो । सरकारले सुरक्षा निकायलाई यो जिम्मेवारी दिएको छ । यसैले सडक सुरक्षादेखि मतदान केन्द्रसम्मको सुरक्षाको अवस्था कस्तो अवस्थामा छ भन्ने विषयमा नियमन जारी राख्नुपर्छ । कडा नियमनले पक्कै पनि सुरक्षा मजबुत बन्दै जाने छ । यसले नागरिकमा आशा पनि जगाउने छ । सुरक्षाको प्रत्याभूति मिल्ने छ । त्यसैले सुरक्षा निकायले नियमित नियमन गरी निर्वाचनको सुरक्षा सतर्कतामा विशेष ध्यान देओस् ।