काठमाडौं - स्वास्थ्य बीमा बोर्डलाई जोगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेपछि बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेपछि मन्त्रालयले चालु आर्थिक वर्षका विभिन्न कार्यक्रम कटौती गर्दै उक्त रकम उपलब्ध गराएको हो ।स्वास्थ्य मन्त्रालयले आकस्मिक रूपमा बजेट व्यवस्थापन गरेको हो ।
बोर्डका अनुसार पुस मसान्तसम्मको मात्रै सेवा प्रदायक अस्पताललाई तिर्न बाँकी दायित्व १२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।भुक्तानी नपाउँदा ठूला सरकारी अस्पतालहरू समेत आर्थिक संकटमा परेको जनाउँदै बीमा कार्यक्रमबाट हात झिक्न थालेपछि सरकार दबाबमा परेको थियो ।
‘अर्थ मन्त्रालयले रकम रकमान्तर गरेर पठाइसकेको छ,’ अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भने ।दुई साताअघि प्रधानमन्त्री सुशीला कार्कीले बीमा बोर्डका लागि आवश्यक रकम ऋण गरेर पनि व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छिन् ।बोर्डका सूचना अधिकारी विकेश मल्लले अर्थ मन्त्रालयबाट रकम रकमान्तर भई ७५ करोड रकम बोर्डको खातामा आएको बताए ।
स्वास्थ्य मन्त्रालयले २२ वटा कार्यक्रमबाट रकम काटेर करिब एक महिनाअघि नै अर्थ मन्त्रालयलाई प्रस्ताव पठाइएको थियो ।अर्थले २३ माघमा रकमान्तर स्वीकृत गरेपछि रकम बीमा बोर्डतर्फ निकासा भएको हो ।