काठमाडौं- आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ,एनएफडिनको आयोजनामा आइतबारदेखि मंगलबारसम्म भएको तीन दिने नेपाल आदिवासी ज्ञान सम्मेलन सम्पन्न भएको छ । “ज्ञानको साझा, सम्पदाको संरक्षण, भविष्यको निर्माण अथावा ज्ञान बाँडफाँड, सम्पदा संरक्षण, भविष्य निर्माण” भन्ने मूल नारासहित आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानको रजत जयन्तीको अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिका, एफएओ, डब्ल्यूडब्ल्यूको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपालका आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न विभिन्न चरणमा देशका विभिन्न क्षेत्रबाट सहभागी र प्रतिनिधित्वहरुसँग बहस ,खाना महोत्सव र ८१ वटा कार्यपत्र प्रस्तुतिकरण भएको थियो ।आदिवासी ज्ञान सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए भने समापनमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल पुगेका हुन् ।
एनएफडिनको उपाध्यक्ष रेशम गुरुङले समापन कार्यक्रममा ज्ञान सम्मेलन निकै उपलब्धीमूलक रहेको बताए । उनले आदिवासी प्रणालीमा यो ज्ञान सम्मेलनले आदिवासीको छलफलमा सार्थक विमर्श भएकोे बताए । उनले भने,‘भावी पुस्ताका लागि प्रस्तुत कार्यपत्र प्रकाशन सरकारसमक्ष प्रतिवेदन बनाएर पेश गरिनेछ ।सहभागीहरु उल्लेख्य उपस्थिति ऐतिहासिक भएको छ । विभिन्न स्वदेश र विदेशबाट जम्मा भएका सम्पूर्णलाई धन्यवाद ।’ मूलुकलाई परिवर्तन गर्न आफैबाट सुरु गर्नुपर्ने उनले बताए । उनले भने,‘सरकारको नजिक रहेर काम गरेको यो प्रतिष्ठानमा ११ करोडको बजेटमा छौँ । समावेशी भवन निमार्ण भएको छ । ’
उनले प्रस्तुत कार्यपत्र सरकारसमक्ष पेश गरी आदिवासीको उत्थान गर्न पहल गर्ने प्रतिबद्धता जनाए । सांस्कृतिक प्रदर्शनमा सुनुवारको श्याँदर सिल–नृत्य,भोटे समुदायको स्याप्रो नृत्य,गुरुङको सोरठ्ठी ,तामाङको डम्फु सेलो,राजवंशीको मौलिक नृत्य,मगरको कौराह नाच प्रदर्शन गरिएको थियो । महोत्सवमा थकाली ,राई ,नेवारी ,शेर्पा ,थारु आदिवासीको मौलिक परिकारमा पस्किएको थियो ।