काठमाडाैं - निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ । आयोगले मंगलबार आचारसंहिताको दफा ३७ बमोजिम दलले आयोगमा र उमेदवारलाई निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिताको दफा ३७ मा दल वा उमेदवारले घोषणापत्र सार्वजनिक गरी त्यसको आधारमा चुनाव प्रचार गर्नुपर्ने उल्लेख छ । ३७ को २(१) अनुसार घोषणापत्र दलले आयोग र उमेदवारले निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । आचारसंहितामा प्रगतिको कार्य प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
प्रतिनिधिसभा निर्वाचन आउँदो फागुन २१ गते हुँदैछ । हालसम्म अधिकांश दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् । फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचारप्रसारको अवधि तोकिएको छ ।