काठमाडौं उपत्यकामा अहिले खाना पकाउने ग्यासको अभाव चुलिएको छ । चुनावको मुखमा सर्वसाधारण एक सिलिण्डर ग्यासका लागि डिपोडिपोमा भौतारिनुपरेको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गर्दै आएको छ । ग्यास उत्पादक कम्पनीहरुको त्यस्तै दाबी छ । तर उपभोक्ता एक सिलिण्डर ग्यासका लागि डिलरका सञ्चालकलाई गुहार्दैमात्र हिँडेका छैनन् भनसुनको दौडमा पनि छन् ।
ग्यास डिपोका सञ्चालकहरुले नियमित ग्राहकलाई पहिलो प्राथमिकता दिने नाममा एक सिलिण्डर ग्यासका लागि हप्ता दिनदेखि महिना दिन पर्खाउन थालेका छन् । यसले सर्वसाधारण आत्तिएका छन्, कतै चुनावको मुखमा ग्यासको अभाव हुने त हैन ? राजनीतिक अस्थिरता कायमै छ । कतिबेला के हुने हो टुंगो छैन । लामो समय नाकाबन्दी बेहोरेका सर्वसाधारण कोही ग्यास भण्डारणतिर लागेका छन् । यही मौकामा व्यापारीले सिलिण्डरको मूल्य बढाउनेदेखि नाफा खान एक कम्पनीको ग्यास अर्को कम्पनीसँग साट्ने वातावरण बनाउन उद्दत देखिन्छ । यसो गर्दा एउटा ग्यास सिलिण्डरबाटै दुई हजार रुपैयाँसम्म बढी लिने गरेको पाइएको छ । ग्यास सकेर भान्सा बन्द भएका उपभोक्ता यो मारमा महँगो मूल्यमा ग्यास सिलिण्डर साट्न बाध्य छन् ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा बिक्रीवितरण नियमित भइरहेको भन्दै अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । आसन्न चुनावलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुर बताउँछन् । हाल दैनिक औसत ११० बुलेट ग्यास नियमितरूपमा आयात भइरहेको उनको भनाइ छ ।
काठमाडौं उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेका निगमले जनाएको छ । निगमको कुरा झट्ट सुन्दा ठीकठाक लागे पनि ग्राउण्डमा त्यस्तो छैन । कुनै बेला चुलोचुलोमा ग्यासको पाइप पुर्याइदिने वचन बाँडेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइबाटै बजारमा ग्यासको अभाव रहेको प्रस्ट हुन्छ ।
झापाको गौरीगञ्ज पुगेर सोमबार ओलीले नेपालमा अब घरघरमा ग्यास पुर्याउन सकिने दाबी पेस गर्दै आफ्नो चुनावी एजेण्डा बनाएका छन् । स्थिरताका लागि भनेर हुन लागेको निर्वाचनअघि नियमित उपभोग्य वस्तुमै यस्तो कृत्रिम अभाव सिर्जना गर्नु सरकारको जवाफदेहितामाथि प्रश्न हो । यो विषयमा सरकारले सक्दो अनुगमन गरेर अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्नुपर्छ । सर्वसाधारण अत्याउने र व्यापार ठप्प पार्ने यस्ता तत्वलाई बेलैमा पाठ पढाउनुपर्छ । तब न नागरिक सरकार ।