काठमाडाैं - महासंघको १३औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा सुन, चाँदी तथा आभूषण व्यवसायीहरूलाई व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने प्रचलित ऐन, कानुन तथा नियमबारे जानकारी, सचेतना तथा प्रशिक्षण प्रदान गर्दै व्यवसायिक प्रवद्र्धन एवं आवश्यक सहयोग पुर्याउने उद्देश्यले व्यावसायिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ ।
उक्त व्यावसायिक सहायता कक्षको आज प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथिले पछिल्लो समय प्रविधिको प्रयोग गरी हुने अपराध बढ्दै गएकाले व्यवसायीहरू सतर्क रहनुपर्नेमा जोड दिए।
साथै विशिष्ट अतिथिको रुपमा उपस्थित भएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले विविध समस्या समाधान तथा अपराध नियन्त्रणमा समेत हेल्प डेस्क सहयोगी हुने विश्वास व्यक्त गरेका थिए । सहायता कक्षमार्फत व्यवसायीहरूले कानुनी परामर्श, नियामक व्यवस्थासम्बन्धी जानकारी तथा व्यवसायिक समस्या समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन् ।
यस पहलले सुन, चाँदी तथा आभूषण व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र सम्मानित बनाउँदै व्यवसायीहरू र सरोकारवाला निकायबीच समन्वय र विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास महासंघको रहको छ ।