- स्थानीय जनतालाई मैले के काम गरेँ भन्ने कुरा थाहा छ । ५० हजारभन्दा बढी करदाताले बुझ्नुभएको छ । मैले आफूलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रयास गरेँ । प्रचारबाजी, हल्ला र विज्ञापन गरिएन ।
- सबैभन्दा ठूलो कुरा नीति हो । नीति राम्रो भएन भने अरु कुरा केही हुँदैन । हामी आइसकेपछि जनप्रतिनिधि विदेश गएनौं, कर्मचारीलाई पनि रोकिदिएका थियौं । तर अहिले बेरुजु रहनेगरी विदेश गएको देखिन्छ ।
- हामी आफ्नै खुट्टामा उभिन सकौं, सक्नुपर्दछ भनेर हामीले काम गरेका हौं । सरकारले बजेट नदिए पनि महानगरले विकास गर्न सक्छ भन्ने मेयर मै हुँ । अहिलेजस्तो अनावश्यक खर्च गरिदिएको भए के हुन्थ्यो ?
- सरकारी कार्यालयमा भए गरेका कामहरु संस्थागत हुनुपर्दथ्यो, पछिल्लो साढे तीन वर्षमा त्यो भएको देखिएन, व्यक्तिगतजस्तै भयो । यसले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ । संस्थाले गरेको काम व्यक्तिगत हुँदा पारदर्शी हुँदैन ।
- राजनीति गर्ने मान्छे सेवाभावले अगाडि बढ्नुपर्दछ । म हिजो पदमा हुँदा पनि जनताको घरदैलोमा जान्थें । अहिले पदमा नहुँदा पनि घरदैलोमा नै छु । जनतासँग भागेर डराएर लुकेर हिँड्नु पर्ने अवस्था छैन ।
यतिखेर देशमा फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल कुम्भमेलाजस्तै लागिरहेको छ । जेन-जी विद्रोहका कारण संसद् भंग गरी नयाँ प्रतिनिधि चयन गर्नका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै गर्दा कतिपय स्थानीय तह तथा प्रदेश तहका जनप्रतिनिधिहरुले राजीनामा दिएर निर्वाचनमा होमिएका छन् । पाँच वर्षका लागि निर्वाचित भएर गएका प्रमुखहरु अवधि नपुग्दै प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिँदा राजीनामा दिएर हिँडेका छन् । काठमाडौं महानगरपालिका पनि अहिले प्रमुखविहीन छ । संविधानअनुरुप उपप्रमुखले कार्यवाहकको जिम्मेवारी सम्हालेको अवस्था छ । विगत साढे तीन वर्षको अवधिलाई महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कसरी नियालिरहेका छन् त ? भन्ने विषयमा प्रभावका लागि बैकुण्ठ भण्डारीले गरेको कुराकानीः
यहाँले अघिल्लो पाँच वर्षको पूर्ण कार्यकाल काठमाडौं महानगरको नेतृत्व सम्हाल्नुभयो । तपाईंपछि आएको नयाँ नेतृत्वले सम्हालेको पछिल्लो साढे तीन वर्षको अवधिमा महानगरबाट भएका काम कारबाहीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
म २०७२ सालको संविधान प्राप्ति र तीन तहको सरकार बनेपछिको पहिलो मेयरका रुपमा निर्वाचित भएको हुँ । स्थानीय सरकार प्रदेश सरकार मातहतमा सञ्चालन हुनुपर्ने थियो । तर प्रदेश सरकारसँग कानुन, कार्यालय, कर्मचारी केही नभएको अवस्थामा हामीले महानगरलाई सञ्चालन गर्न संघ र प्रदेशको कानुनसँग नबाझिनेगरी धेरै कानुन निर्माण ग¥यौं । धेरै चुनौतीका बाबजुत काम गर्नुपर्ने अवस्था थियो । १५ वर्षसम्म कर्मचारीले चलाएको स्थानीय निकायलाई चलाउनुपर्ने कठिनजस्तै थियो । तर पछि निर्वाचित भएर आउने जनप्रतिनिधिलाई कानुनी दृष्टिकोणले त्यो चुनौती भएन । किनकि, हामीले कानुन निर्माण गरिदिएका थियौं । संशोधन गर्नुपर्ने भए त्यो पनि गरिसकेका थियौं । अझ, हामी कस्तो बेलामा निर्वाचित भएका थियौं भने भूकम्पबाट थिलथिलो भएको सहरलाई पुर्ननिर्माण गर्नुपर्ने अवस्था थियो । कोभिड-१९ को महामारीका कारण जनतालाई सुरक्षित गराउनुपर्ने अवस्था थियो । मेरो कार्यकालमा कोभिड महामारीबाट नागरिकलाई सुरक्षित गर्दै सम्पदालगायत पुर्ननिर्माणका कामलाई सञ्चालन गर्नुपरेको थियो । स्थानीयबासीलाई करको दर घटायौं । स्वास्थ्य सेवाको पहुँच पु¥याउन अस्पतालसँग सहकार्य गरेको थियौं । अहिले साढे तीन वर्षमा मैले सुरुआत गरेका पुनर्निर्माणका कामहरुले पूर्णता पाएको छ ।
त्यत्ति धेरै काम गर्नुभएको रहेछ, तर किन बाहिर आउन सकेन त ?
स्थानीय जनतालाई मैले के काम गरेँ भन्ने कुरा थाहा छ । ५० हजारभन्दा बढी करदाताले बुझ्नुभएको छ । मैले आफूलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रयास गरेँ । तपाईंले भनेजस्तो प्रचारबाजी, हल्ला र विज्ञापन गरिएन ।
तपाईंले आफ्नो पाँच वर्षे कार्यकालमा गर्नुभएको कामलाई कसरी बुझाउनुहुन्छ ?
अहिले काठमाडौं महानगरपालिकाबाट भएका विकास निर्माणका काम हुन् वा जनताका सरोकारका कामहरु सबै मैले नै सुरु गरेको हुँ । त्यसबेला कोभिड-१९ मा जनतालाई सुरक्षित गर्न अस्पतालसँग सहकार्य गरेर उपचार सहज बनाउनेदेखि बाटोघाटो, भत्किएका संरचनाहरुको पुनर्निर्माण सुरु गरिएकोमा अहिले अधिकांश सम्पन्न भए । कतिपय अझै पनि निर्माणाधीन अवस्थामा छन् । तपाईं आफैंले स्थानीय तहको पहिलो पाँच वर्ष र पछिल्लो साढे तीन वर्षको अध्ययन गर्नुस् त ।
तपाईं अस्पतालहरु घुम्नुस् । सरकारी र सामुदायिक अस्पतालहरुमा हामीले सहयोग गरेका छौं । जनताको निःशुल्क उपचारका लागि भनेर क्षेत्रपाटी अस्पतालसँग सहकार्य गरियो । जुन अहिले बन्दै छ । त्यस्तै डल्लु आवास क्षेत्रमा बन्दै गरेको अस्पताल पनि हाम्रै पालामा सहकार्य भएको हो । डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भएको बाल अस्पतालमा पनि सहयोग गरेका छौं । अधिकांश अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण गरिदिएका छौं । सिंगो देशबासीले नै स्वास्थ्य सुविधा पाउन् र महँगो अस्पताल जानु नपरोस् भनेर सरकारी र सामुदायिक अस्पतालका पूर्वाधार र अत्याधुनिक मेसिन हामीले खरिद गरेर दिएका थियौं ।

भूकम्पपछिको पुनर्निर्माण, कोभिडको महामारीमा नेतृत्व गरेर काम गरेको व्यक्ति किन गुमनाम त ?
वस्तु राम्रो कि नराम्रो भन्ने कुरा विज्ञापनले निहित गर्ने भो । सामाजिक सञ्जालका कारण के हो, के होइन भन्ने कुरा छुट्ट्याउन गाह्रो बनाइदिएको छ । पैसा पाए भन्दैमा जे पनि सञ्जालमा हालिदिने परम्पराले गर्दा जनतालाई भ्रम छर्ने र मुर्ख बनाउने काम भइरहेको देखिन्छ । ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन’ भनेजस्तै काम गरेका छौं । आजका दिनसम्म पनि शिर ठाडो पारेर मत दिने मतदाता र टिकट दिने पार्टीलाईसमेत गौरव गर्न लायक बनाएको हो ।
त्यसो भए शिर ठाडो बनाएर हिँड्न सक्ने गरी काम गर्नु भयो ?
तपाईं जहाँसुकै गएर सोध्नुस् । सबैले एउटै भन्छन्, काम धेरै गर्नुभयो हल्ला कम गर्नुभयो । त्यसैले बाहिर नदेखिएको होला । भूकम्पपछि काठमाडौं बस्नलायक सहर भएन भन्दै धेरैले छाडेर गए । लासैलासको काठमाडौं हुने भो, महामारी फैलिने भो भनेर काठमाडौं छाडेर गए । हजारौं मानिस खान नपाएर मर्ने भए भनियो । भूकम्पपछि संघीय सरकारले बनाउँछ भनेर बसेको भए अहिले १० प्रतिशत पनि बनिसकेको हुँदैनथ्यो । तर हामीले महानगर आफैंले बनाउन सक्छ भनेर बनायौं । भूकम्पले क्षतिग्रस्त सहरलाई फेरि पुरानै लयमा फर्कायौं । त्यस्तैगरी कोभिडको समयमा पनि त्यस्तै हल्ला गरेर हिँडे । हामीले कोभिडको समयमा घरघरमा खाना पुर्यायौं । कोभिडका बिरामीलाई अस्पताल पु¥याउनका लागि १०२ नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेर एम्बुलेन्स सेवा सञ्चालन ग¥यौं । त्यसबेला घरबाट अस्पताल र अस्पतालबाट घर आउने बिरामीका आफन्तका लागि निजी एम्बुलेन्ससँग सहकार्य गरेर सेवा दियौं । जनतालाई अप्ठेरो पर्दा हामी छौं, काठमाडौं महानगर छ, अनि सिंगो काठमाडौं उपत्यका मेयर फोरम छ भन्ने महसुस गरायौं ।
१०२ एम्बुलेन्स २०७५ मा नै सञ्चालनमा आयो, त्यसो भए ब्रुमरको कथा के हो त ?
सहरलाई धूलोमुक्त बनाउनुपर्छ भन्ने योजनाअनुरुप म मेयर भएर आउनुभन्दा अगाडि नै कर्मचारी संयन्त्रले महानगर चलाएको बेलामा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाइसकेको थियो । जुनबेला हामी जनप्रतिनिधि थिएनौं । दलीय प्रतिनिधिमा रुपमा काम गरिरहेका थियौं । अहिलेका काठमाडौंका जिल्ला प्रशासन कार्यालयका प्रमुख ईश्वरराज पौडेल त्यसबेला काठमाडौं महानगरको कार्यकारी प्रमुखका रुपमा कार्यरत हुनुहन्थ्यो । त्यसबेला नै पाँचवटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढेको र म निर्वाचित भएर आएपछि ब्रुमर आएको हो । दुईवटा ब्रुमर तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा म मेयरका रुपमा चीन भ्रमणमा गएको बेला अनुदानमा सहयोग आएको हो । त्यो समन्वय तात्कालीन चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले गर्नुभएको हो ।
भनेपछि ब्रुमर अहिले यो तीन वर्षको बीचमा आएको होइन ?
होइन । स्थानीय तहको निर्वाचन हुनुपूर्व नै खरिद प्रक्रियामा अगाडि बढेको ब्रुमर मेरो कार्यकालमा आइपुगेको र दुईवटा अनुदान प्राप्त भएको हो । यस्ता कतिपय काम अलि लामो समयमा नै पूरा हुन्छन् । जस्तैः म मेयर हुँदा शिलान्यास भएको कीर्तिपुण्य महाविहार गत आइतबार मैले नै उद्घाटन गरेँ । यसको मतलब के हो भने पूर्वाधारको विकास गर्न समय लाग्छ । हामीले सुरु गरेका काम अहिले पूरा भएर देखिँदै छन् । ब्रुमरको जसले जस्तो खाले हल्ला चलाए पनि त्यो अहिले आएको होइन । मेरो पालाभन्दा अगाडिकै काम हो । मेरो चाहना यति ब्रुमरले पुग्दैन भन्ने थियो । गल्लीगल्लीमा पुग्ने ब्रुमर खरिद गरी धूलोमुक्त बनाउनुपर्छ भन्ने अभियानमा हामी जुटेका थियौं ।
दमकलको कुराचाहिँ के हो ?
दमकल हाम्रो कार्यकालमा महानगरले खरिद गरेको हो । सायद नेपालको इतिहासमा नै दमकल खरिद गर्ने हामी नै हो । तर विडम्बना काठमाडौं जलिरहँदा त्यो दमकल प्रयोग भएन । यस्तै विपद्का बेला भनेर हाम्रो कार्यकालमा तीन स्थानमा दमकल स्टेसन बनायौं । हनुमानढोकामा रहेका दमकलले मात्र पुग्दैन भनेर बौद्ध रामहिटी, बालाजुमा थप्यौं तर काठमाडौं जलिरहँदा दमकल प्रयोग हुन पाएन ।
तपाईंहरुको पालामा अन्य पालिकालाई पनि सहयोग गर्नुभएको थियो, के छ अवस्था अहिले ?
सबैभन्दा ठूलो कुरा नीति हो । नीति राम्रो भएन भने अरु कुरा केही हुँदैन । पहिले कोही विदेशी आउँदा हामीले हात थाप्थ्यौं । विदेशीलाई चिट्ठी लेखेर हामीलाई बोलाऊ भन्ने चलन थियो । अहिले एक जना मन्त्रीको विवाद जसरी आयो पहिले त्यही हुन्थ्यो । हामी आइसकेपछि जनप्रतिनिधि पनि गएनौं, कर्मचारीलाई पनि रोकिदिएका थियौं । तर अहिले बेरुजु रहनेगरी विदेश गएको देखिन्छ । काठमाडौं महानगरपालिकाले अरुसँग हात थाप्ने होइन, आफूसँग भएको स्रोत साधन आफ्ना नागरिकका लागि सदुपयोग गर्नुपर्दछ भन्ने हो । हामीले नगर-नगर साझेदारी गरेर आर्थिकरुपमा कमजोर भएका पालिकालाई सम्पदा र हरियाली प्रवद्र्धन गर्न सहयोग गरेका हौं ।
अहिले धेरै विदेश गए भन्ने आरोप लगाउन खोज्नुभएको हो ?
भएको जे हो त्यही भन्न खोजेको हो । आरोप लगाउन खोजेको होइन । हामी आफ्नै खुट्टामा उभिन सकौं, सक्नुपर्दछ भनेर हामीले काम गरेका हौं । सरकारले बजेट नदिए पनि महानगरले विकास गर्न सक्छ भन्ने मेयर मै हुँ । अहिलेजस्तो अनावश्यक खर्च गरिदिएको भए के हुन्थ्यो ? अनावश्यक खर्च नगरेर जनताबाट उठाएको राजस्व सञ्चित गरेर राखिदिएका थियौं । अनि विदेशी संघसस्थासँग कहिल्यै हात फैलाउने काम हाम्रो पालामा भएन ।
त्यसो भए महानगरपालिका नीतिभन्दा फरक ढंगले सञ्चालन भयो ?
सरकारी कार्यालयमा भए गरेका कामहरु संस्थागत हुनुपर्दथ्यो, पछिल्लो साढे तीन वर्षमा त्यो भएको देखिएन, व्यक्तिगतजस्तै भयो । यसले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ । संस्थाले गरेको काम व्यक्तिगत हुँदा पारदर्शी हुँदैन । कतिपय इतिहास बन्ने वस्तु वा चीज पनि लुक्ने वा हराउने हुन्छ । पछिल्लोे करिब साढे तीन वर्षमा भएका धेरै काम व्यक्तिगत भए, संस्थागत हुन सकेन । बरु अघिल्लो कार्यकालमा सुरु भएका कामहरुले पूर्णता पाएका छन् ।
यत्तिको नरम मान्छेलाई पार्टीले अन्याय गर्यो भन्छन् नि ?
छैन । मलाई मेरो पार्टी र नेतृत्वले अन्याय गरेको छैन । न्याय नै गरिरहेको छ । राजनीति गर्ने मान्छे सेवाभावले अगाडि बढ्नुपर्दछ । म हिजो पदमा हुँदा पनि जनताको घरदैलोमा जान्थें । अहिले पदमा नहुँदा पनि घरदैलोमा नै छु । जनतासँग भागेर डराएर लुकेर हिँड्नु पर्ने अवस्था छैन । मैले मेरो पार्टी र मेरो नेतृत्वलाई बद्नाम गराएको छैन । त्यसैले मलाई पार्टीले न्याय गरेको छ र गर्छ भन्ने कुरामा ढुक्क छु ।